घोराही:बलात्कार आरोपमा पक्राउ परेका एक जना सशस्त्र प्रहरीले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । वडा प्रहरी कार्यालय घोराहीको नियन्त्रणमा रहेका प्युठान सरुमारानी गाउँपालिका–४ घर भई ज्वालामाई गण भालुवाङमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले झुन्डिएर आत्महत्या गरेका हुन ।
वडा प्रहरी कार्यालय घोराहीको शौचालयको झ्यालमा प्रयोग गरिएको फलामको रडमा आफूले लगाएको स्याण्डो र टिसर्टले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिनुभएको छ । प्रहरी उपरीक्षक तिमिल्सिनाका अनुसार सोमवार बिहान करिब पाँच बजेतिर शौचालय गएको र लामो समयसम्म नफर्किएपछि ढोका खोलेर हेर्दा झुन्डिएको अवस्थामा भेटिएका थिए ।
गत असोज २४ मा भलुबाङका १४ र ८ वर्षीय दुई बालिकालाई बलात्कार गरेको आरोपमा भालुबाङस्थित सशस्त्र प्रहरी बल ज्वाला माई गणका दुई प्रहरी नियन्त्रणमा थिए । आरोपित अर्का एक जना हिरासतमै छन् ।