९ मंसिर २०८१, आईतवार

बाँके बर्दियाका थारु र मधेशीहरुले मनाए देवारी

अलैयाबलैया खेल : घर बाहिर बारीमा रहेका तरकारी उखु चोर्दा दोस नलाग्ने प्रचलन

  • न्युज मानसराेवर

नेपालगञ्ज : बाँके र बर्दियाका मधेशी समुदायसहित थारू समुदायले आफ्नो संस्कृति र परम्परा अनुसार देवारी पर्व मनाएका छन् । देवारी पर्वका अवसरमा मधेशी समुदायले हडाहड्वाई र थारु समुदायले वर्षाैँदेखि मनाउन छोडेको अलैयाबलैया खेल खेलेर देवारी पर्व मनाएका हुन् । देवारीका अवसरमा दियो बालेपछि बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाका हिन्दु धर्मावलम्बीहरुले बनकस, कुस, खरलगायतको मुँजामा आगो लगाएर हडाहड्वाई खेलेका छन् ।

अहिले जस्तो बिसौं वर्ष पहिला पटका, झिरझिरी नपाउने भएका कारण देवारीको राती बनकस, खरलगायतको मुँजामा आगो लगाएर हडाहड्वाई अर्थात् आफ्नो चारै तिर आगो घुमाएर रमाइलो गर्ने चलन चली आएको बाँके डुडुवा वडा नं. ६ हिरमिनियाका पर्व सम्बन्धी जानकार शंकर दयाल मिश्रले बताए ।

यसै गरी बर्दियाको बारबर्दिया नगरपालिका–३ बेलवाबज्जामा देवारीको अवसरमा परम्परा अनुसार विविध परम्परागत तथा साँस्कृतिक क्रियाकलाप गरिएको छ । थारू परम्परा अनुसार देवारीका अवसरमा गरिने क्रियाकलाप सञ्चालन गरेका छन् ।

देवारीको दिनमा थारू समुदायले बिहानै उठेर घर सरसफाइ गर्छन् । घर आँगन लिपपोत गर्ने बाटोघाटो सफा गर्छन् । तत्पश्चात् पुरुषहरू बाहिरको काम गर्छन् भने महिलाहरू मकै भुटेर जाँतोमा पिस्छन् । मकैको सातुमा नुन मिसाएर मन्दिर तथा सार्वजनिक स्थानमा नुन सातु लिएर जान्छन् । पुरुषहरूले खुर्केर सफा बनाएको जमिनमा महिलाहरूले सातु राखिदिन्छन् भने पुरुषहरूले गाई गोरु भैँसीहरूलाई टिका लगाएर सातु खान दिन्छन् । यस क्रियाकलापलाई थारू भाषामा लोन खुवाइना भनिन्छ ।

अलैयाबलैया खेलपछि अन्तिम क्रियाकलाप युवाहरूले उखु, पिँडालु, तरकारी चोर्नु रहेको छ । अलैयाबलैया गरेर चोर केटाकेटी लखेटे पनि सबै सुतेको मौका पारेर युवा तथा किशोरीहरूले चोर्ने र लुकेर खाने प्रचलन रहेको समाजसेवी पर्शुराम चौधरीले बताए । उनका अनुसार यस दिनमा घर बाहिर बारीमा रहेका तरकारी उखु चोर्दा दोस नलाग्ने प्रचलन रहेको बताए ।

बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारूले हराइरहेको थारू संस्कृति जोगाउनका लागि देवारी विशेष कार्यक्रम गरिएको बताए । थारू समुदायको परम्परा हराउँदै अन्य जातजातिको परम्परा भित्रिँदै गएको उनले बताए ।

  • १६ कार्तिक २०८१, शुक्रबार प्रकाशित

  • Nabintech