२१ पुष २०८१, आईतवार

विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३७ रनले पराजित
  • न्युज मानसराेवर

काठमाण्डाै: आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खलामा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ । अमेरिकाले दिएको दुई सय ८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर पाँच बलमा दुई सय ४४ रनमा अलआउट भयो । नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रन बनाए । यस्तै सोमपाल कामीले ४६ रन बनाए । अमेरिकाका सौरभ नेत्रावलकरले चार विकेट लिए ।

त्यसअघि डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८१ रन बनाएको थियो । अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रन बनाए । यस्तै कप्तान मोनांक पटेलले ६७ र हरमित सिंहले ५९ रन बनाए । नेपालका गुलशन झाले तीन विकेट लिए । यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए । कुशल भुर्तेलले एक विकेट लिए ।

लिग–२ अन्तर्गत यो शृङ्खलाको पहिलो खेलमा पनि नेपाल घरेलु टोली अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । नेपालले आफ्नो दोश्रो खेलमा स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो । तालिकाको सातौँ स्थानमा रहेको नेपालको ११ खेलमा पाँच अङ्क छ । १२ खेलमा १६ अङ्कका साथ अमेरिका तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अब नेपालले यो श्रृंखलाको आफ्नो अन्तिम खेलमा भोलि स्कटल्यान्डसँग खेल्नेछ ।

  • १८ कार्तिक २०८१, आईतवार प्रकाशित

  • Nabintech