६ मंसिर २०८१, बिहीबार

कोहलपुर १४ का चिडिमार समुदायको पुर्खौली पेशा संकटमा

वातावरणीय नियम, वन्यजन्तु संरक्षण नीति र चरा मार्ने परम्परामा आएको परिवर्तनले उनीहरूको जीवनयापन जटिल बन्दै

  • न्युज मानसराेवर

बाँके:समयसँगै आएको परिवर्तनले बाँकेको कोहलपुर नगरपालिका–१४, हवल्दारपुरस्थित चिडिमार समुदायको पुर्खौली पेशा संकटमा पर्दै गएको छ ।   केही वर्ष पहिले सरकारले चराचुरुङ्गी र वन्यजन्तुको शिकारमाथि प्रतिबन्ध लगाएसँगै चिडिमारको परम्परागत पेशा संकटमा परेको हो । चिडिमार समुदायले पुस्तौँदेखि चराहरूको शिकार गरेर जीविका चलाउँदै आएका छन् । तर वातावरणीय नियम, वन्यजन्तु संरक्षण नीति र चरा मार्ने परम्परामा आएको परिवर्तनले उनीहरूको जीवनयापन जटिल बन्दै गएको छ ।

हवल्दारपुरका ५० वर्षीय रामप्रसाद चिडिमारले समुदायका लागि चरा मार्ने पेशा केवल जीविकाको साधन मात्र नभई आफुहरुको सांस्कृतिक पहिचान पनि भएकाले यसलाई जोगाइराख्न अपरिहार्य भएको बताए ।

उनले हरेक परिवारले विगतमा शिकार गरेर आफ्नो जीवन निर्वाह गर्ने गरेकोमा समय परिवर्तनसँगै यो पेशा पनि संकटमा पर्न थालेको जनाउँदै पुर्खौली पेशा संकटमा परेकाले अति नै चिन्तित बनाएको बताए ।

यस्तै, अर्का जीवन चिडिमारले चरा मार्न नपाएपछि कसरी गुजारा चलाउने ? भन्ने प्रश्न गर्दै राजा र राणाका पालामा बाउबाजेलाई चरा मार्न शिकार खेल्न दिने गरिएकोमा अहिले त्यो रोक्दा समुदायमा समस्या अति नै बढेको बताए ।  उनले चिडिमार समुदायको शिकारको साधनमा परिवर्तन र कानुनी प्रतिबन्धले चिडिमारहरूको मुख्य पेशा धराशायी भएको जनाउँदै पहिलेजस्तो चरा मार्न पाउनुपर्ने माग गरे ।

चिडिमारहरूको पुर्खौली पेशामा संकटको अर्को कारण भनेको जैविक विविधता र पर्यावरणीय असन्तुलन पनि भएको समुदायका अगुवाहरु बताउँछन् । कोहलपुरकै अर्का चिडिमार राजेश चिडिमारले धेरै क्षेत्रहरूमा चरा मार्न नपाउने गरी वन्यजन्तु संरक्षणको प्रयास भइरहेकाले चिडिमार समुदायलाई आर्थिक रूपमा ठूलो असर गरेको बताए ।

उनका अनुसार चरा मार्न नपाउँदा चिडिमार समुदायले आफ्नो परम्परागत सीप गुमाउँदै गएका छन् । यो समुदायलाई अन्य रोजगारीका अवसरहरू भने उपलब्ध छैनन् । अशिक्षा र गरिबीका कारण वैकल्पिक पेशा अपनाउन उनीहरू असमर्थ छन् । पेशा मात्र नभइ चिडिमारहरूको पारिवारिक जीवन पनि संकटमा छ ।

शिकार गर्न नपाउँदा आम्दानीको स्रोत घटेको छ, जसका कारण उनीहरूको आर्थिक अवस्था दिनानुदिन कमजोर बन्दै गएको छ । चिडिमार समुदायले अन्य पेशामा लाग्न चाहे पनि त्यसको लागि आवश्यक सीप, तालिम, र स्रोतको अभाव रहेको छ ।

  • १९ कार्तिक २०८१, सोमबार प्रकाशित

  • Nabintech