१९ मंसिर २०८१, बुधबार

बाँके बैकुण्ठधाम निर्माणकालागि धार्मिक महोत्सवपुर्व नै संकलन भयो ४९ लाख

बैकुण्ठधामका लागि मुल समितिका संयोजक डा सुरेश कनोडियाले १० लाख १ सय १ रुपैयाँ दान गरे

  • न्युज मानसराेवर

बाँके: बाँकेको डुडुवा गाउँपालिका ५ मा सिधनियाघाट बैकुण्ठधाम निर्माणका लागि सहयोग जुट्ने अभियानले निरन्तरता पाएको छ । बैकुण्ठधाम निर्माणका लागि आगामी २२ गतेबाट नेपालगन्जमा धार्मिक महोत्सवको आयोजना गरिने भएपनि महोत्सव सुरुहुनु पूर्व नै ४८ लाख ८४ हजार रकम सङ्कलन भइसकेको छ ।

सोमबार मात्र बैकुण्ठधाम निर्माणका लागि कोहलपुरबाट रम्भा शर्माले १० लाख ११ हजार हस्तान्तरण गरेकी छिन । उनले बैकुण्ठधाम सिधनियाघाट निर्माणमा टेवा पुगोस् भन्ने उद्देश्यले महोत्सव पूर्व चेक पठाएको महोत्सव मुल आयोजक समितिका आर्थिक उपसमितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए। सोमबार नै नेपालगन्जकी सुशिला शर्माले पनि महोत्सवको सचिवालय पुगेर बैकुण्ठधाम निर्माणका लागि ५ लाख ५५ हजार ५५५ रुपैयाँको चेक हस्तान्तरण गरेकी छिन ।

धार्मिक महोत्सव सुरुहुनु पूर्व नै धमाधम दाताहरुले दान दिन थालेको मुल समितिका सचिव भोला महतले जानकारी दिए । बैकुण्ठधामका लागि मुल समितिका संयोजक डा सुरेश कनोडियाले १० लाख १ सय १ रुपैयाँ दान गरेका छन भने कमल कार्कीबाट १ लाख ५१ हजार १५१, राजमन मित्रबाट १ लाख ११ हजार १११, विमल डाँगीबाट १ लाख, संजीव बस्नेतबाट १ लाख १ हजार रुपैयाँ दान प्राप्त भएको मुल समितिले जनाएको छ।महोत्सवको घोषणा भए लगत्तै डा. बद्री चापागाईँले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्रदान गरेर आर्थिक सङ्कलनको आरम्भ गरेका थिए ।

दान गरेका दाताहरूलाई पूर्व निर्धारित कार्यक्रम अनुसार धार्मिक महोत्सवमा सम्मान र अभिनन्दन गरिने मुल समितिका महासचिव श्रीराम सिग्देलले बताए । यही कार्तिक २२ गतेबाट ३० गते सम्म बाचन शिरोमणि दीनबन्धु पोखरेलबाट सङ्गीतमय भागवत बाचनसहित धार्मिक महोत्सवको आयोजना हुने महासचिव सिग्देलले जनाए ।

  • २० कार्तिक २०८१, मंगलवार प्रकाशित

  • Nabintech