६ मंसिर २०८१, बिहीबार

मानखोलाको कटान रोक्न तटबन्धन निर्माणको प्रक्रिया शुरु

मानखोलाको कटान नियन्त्रणका लागि करिब एक अर्व बजेट खर्च हुने अनुमान

  • न्युज मानसराेवर

बैजनाथ,बाँके: मानखोलाको कटानका कारण सबैभन्दा बढी जोखिममा परेको बाँकेको बैजनाथ गाउँपालिका –८ टिटिहिरियास्थित करेलीभाङ्ग्रामा कटान नियन्त्रणका लागि तटबन्ध गरिने भएको छ ।  मानखोलाको कटान नियन्त्रणका लागि चालु आर्थिक बर्षमा लुम्विनी प्रदेश सरकारको उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विनियोजन गरेको एक करोड रुपैयाँ बजेटबाट सो स्थानमा तटबन्धन निर्माण गर्न लागिएको हो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख आशिष विकले तटबन्धनका लागि नापजाँचको काम गरिएको जानकारी दिँदै तत्काल ठेक्का आव्हान गर्ने तयारी गरिएको जानकारी दिए ।  कार्यालय प्रमुख विकले भने, ‘मानखोलाले बिभिन्न स्थानमा कटान गरेको छ, न्यून बजेट भएकाले सबैभन्दा बढी प्रभावित क्षेत्रलाई प्राथमिकता दिएर काम अघि बढाउने तयारी गरेका छौं ।’

स्थानीय प्रेम खत्रीले मानखोलाको तिव्र कटानका लागि खोला किनारमा रहेको सरस्वती आधारभूत विद्यालय र सयौं स्थानीय बासिन्दाका घर उच्च जोखिममा रहेको बताए । उनले पक्की तटबन्धनको काम तत्काल अघि बढाउन माग गरे ।

लुम्वनी प्रदेश सभा सदस्य रत्न खत्रीले मानखोलाको कटान नियन्त्रण प्रदेश सरकारको चिन्ताको विषय भएको बताए । बाँके र बर्दियाको हजारौं खेतीयोग्य जमिन खोलाले कटान गरेकाले नियन्त्रणका लागि गुरुयोजना अनुसार काम अघि बढाउन प्रदेश सरकारसमक्ष माग गरेको खत्रीले बताए ।

खत्रीले भने, ‘गुरुयोजनाअनुसारको बजेट नभए पनि विनियोजन बजेटबाट समयमै काम सम्पन्न भएमा वस्ती जोगाउन सकिन्छ ।’ गुरुयोजना अनुसार बाँकेमा  मानखोलाको कटान नियन्त्रणका लागि करिब एक अर्व बजेट खर्च हुने अनुमान गरिएको छ ।

  • २८ कार्तिक २०८१, बुधबार प्रकाशित

  • Nabintech