६ बैशाख २०८२, शनिबार

व्यापारीभन्दा बढी मूल्यमा धान खरिद गर्दै नेपालगञ्ज खाद्य

कृषि ज्ञान केन्द्रका अनुसार बाँकेमा एक लाख ५० हजार मेट्रिक टन धान उत्पादन

  • न्युज मानसराेवर

नेपालगञ्ज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्जले गतवर्ष ५१ हजार क्वीन्टल धान खरिद गर्ने घोषणा गर्यो । त्यही अनुसार नेपालगञ्जमा धान खरिद सुरु गरियो । अन्तिमसम्म कुर्दा पनि ८ हजार क्वीन्टल मात्र खरिद गर्न सकियो । भारतले धान, चामल निर्यात नगर्ने बताइदिंदा त्यसको असर खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा पर्यो ।

खाद्यको भन्दा अलिकति बढी मूल्य दिएर व्यापारीले किसानसँग धान खरिद गरे । भारतले चामल निर्यातमा कडाई गर्ने वित्तिकै महंगोमा बेच्न पाइन्छ भनेर व्यापारीले चलाखी गरे । भारतीय हल्लाले व्यापारीले खाद्यको भन्दा प्रतिक्वीन्टल एक सय ८८ रुपैयाँ बढी दिएर धान खरिद गरेका थिए । आफूखुसी मूल्य तोक्ने व्यापारीको अगाडि खाद्यको केही चलेन । जसले गर्दा उसले ८ हजार क्वीन्टल मात्र धान खरिद गर्न सक्यो ।

तीन भाइको गरेर प्रतिवर्ष दुई सय क्वीन्टल धान बिक्री गर्ने डुडुवाका पंकज बर्माले तीन हजार ५ सय ५० रुपैयाँ क्वीन्टलमा धान व्यापारीलाई बेचे । गतवर्ष खाद्यले मध्यम धान तीन हजार तीन सय ६२ र मोटा धान तीन हजार एक सय ९८ रुपैयाँमा खरिद गरेको थियो । भारतीय हल्लाले गर्दा व्यापारीले धान खरिद गरेर जम्मा गरे । खाद्यको गोदाम रित्तो भयो ।

यसपालि भारतबाट त्यस्तो कुनै हल्ला चलेन । हल्ला नचल्दा व्यापारीले तँछाडमछाड पनि गरेनन् । खाद्यले मध्यम धान तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा र मोटा धान तीन हजार चार सय १० रुपैयाँ ५१ पैसामा खरिद गर्दा किसानजति खाद्यतिर ढल्केका छन् । अहिले व्यापारीले तीन हजार दुई सय रुपैयामा धान खरिद गरिरहेका छन् । व्यापारीले भन्दा तीन सय ८० रुपैया बढी मूल्य पाएपछि किसान खाद्यमा धान बेच्न लाइन लागेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्जका प्रमुख रामशरण लामिछानेका अनुसार यसपाली ४० हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य राखिएको छ । गतवर्ष धेरै लक्ष्य राख्दा र कम खरिद हुँदा खाद्यले यसपालि लक्ष्य नै घटाएको छ । वडा कार्यालयको सिफारिसमा खाद्यले धान खरिद गरिरहेको छ । बाँकेमा खाद्यको ३५ हजार क्वीन्टल धान राख्न सकिने गोदाम रहेको छ । खाद्यले यहीँ कुटाएर पहाडी जिल्लामा चामल पठाउने गर्दछ ।

कृषि ज्ञान केन्द्रका अनुसार बाँकेमा यो वर्ष एक लाख ५० हजार मेट्रिक टन धान उत्पादन हुन्छ । त्यसमा ४० हजार क्वीन्टलमात्रै धान खाद्यले खरिद गर्ने लक्ष्य राखेको छ । अरु धान कहाँ जान्छ ? कसैले चासो दिएको देखिँदैन ।

गतवर्ष व्यापारीलाई धान बेचेका डुडुवाका पंकज बर्मा यसपाली खाद्यमा आइपुगेका छन् । बर्मा भन्छन्, ‘गतवर्ष व्यापारीले बढी मूल्य दिए । उतै बेचियो । यसपाली खाद्यले बढी मूल्य दिएको छ । यता ल्याएको छु । हामी किसानले जता बढी मूल्य पाउँछौँ, उतै बेच्ने हो ।’

खाद्यले कात्तिक २० गतेदेखि धान खरिद सुरु गरेको छ । अहिलेसम्मको अवस्था हेर्दा यसपाली समयमै लक्ष्य अनुसारको धान खरिद गर्न सकिने प्रमुख लामिछानेको भनाई छ । खाद्यले ६ हजार क्वीन्टलबढी धान खरिद गरिसकेको छ । ट्याक्टर र डल्लबमा धान ल्याएका किसान आफ्नो पालो कुरेर बसेका छन् ।

  • २ मंसिर २०८१, आईतवार प्रकाशित

  • Nabintech