६ मंसिर २०८१, बिहीबार

जब्दिघाट पुल मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती
  • न्युज मानसराेवर

बर्दिया : बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल भासिएपछि सर्वसाधारणले सास्ती खेप्न परेको छ । यो पुल भासिएपछि बर्दिया सदरमुकाम गुलरिया आउजाउ गर्ने मोटर बाटाहरु बन्द भएका छन् ।

पप्पु कन्स्ट्रक्सनले साढे १६ करोड बढी लागतमा बनाएको यो पुल उदघाटन नहुँदै भासिएपछि बबई नदि वारपार गर्न यहाँका नागरिकलाई डुंगाको सहारा लिन परेको छ । समयमा डुंगा नपाइने भएकोले विरामी, बालबालिका र जेष्ठ नागरिक सवैभन्दा बढि मारमा परेका छन् ।

विक्रम सम्वत २०७४ साल साउनमा आएको बाढीले पुलको पिलरमा क्षति पुर्याउँदा पुलको दुई वटा पिलर भासिएको हो । पुल ४ सय ३५ मिटर लामो र ७.४ मिटर चौडा छ । यो पुल तरेर गुलरियाबाट बारबर्दिया नगरपालिका हुँदै पूर्वपश्चिम राजमार्गको रम्भापुर आउ–जाउ गर्न सकिन्थ्यो । यो पुल पनि भत्किएपछि सदरमुकाम गुलरियासँगको सम्पर्क टुटेको स्थानीय बताउँछन् ।

पूर्ण रुपमा संचालनमा नआउँदै भासिएको पुल समेत सर्वसाधारणले प्रयोग गर्दै आएका थिए । चार पांग्रे सवारी साधन संचालन गर्न नमिले पनि मोटरसाइकल, साइकल र पैदल आउजाउ गर्न सकिने अवस्थाको पुललाई समेत २०७९ सालमा आएको बाढीले बगाउँदा यस क्षेत्रका बासिन्दालाई डुंगाको भर पर्न परेको छ । डुंगा प्रयोग गर्नुको कुनै विकल्प नभएको स्थानीय बताउँछन् ।

जब्दीघाटमा स्टीमर संचालनमा छ । स्टीमरमार्फत नदि पार गरेबापत एक जनाले १० रुपैयाँ शुल्क बुझाउनु पर्छ । साइकलको १० र मोटरसाइकलको १५ रुपैयाँ बुझाउन बाध्य छन् । स्टीमर संचालनका लागि गुलरिया र बारबर्दिया नगरपालिकाले ठेक्का दिएका छन् । ठेकेदारले खसी, बोका पार गरेबापत समेत शुल्क लिने गरेको छ । खसी, बोकाको १० रुपैयाँ शुल्क बुझाउन सर्वसाधारण बाध्य छन् ।

यो घाटबाट दैनिक कम्तीमा दुई हजार सर्वसाधारण आउजाउ गर्छन् । पुल पुनर्निर्माण नहुँदा सदरमुकाम गुलरिया आउन सर्वसाधारणले सास्ती खेप्न परेको छ । पुल भएको बेला १५ मिनेटमा गुलरिया पुगे पनि डुंगामार्फत नदि तर्दा झण्डै एक घण्टा लाग्ने गरेको स्थानीयले जनाएका छन् ।

  • ३ मंसिर २०८१, सोमबार प्रकाशित

  • Nabintech