६ मंसिर २०८१, बिहीबार

शल्यक्रियापछि डोल्पाका ३२ जनाले पाए पुनः दृष्टि
  • न्युज मानसराेवर

डोल्पा : आँखा देख्न छाडेको धेरै समयपछि पुनः दृष्टि पाएपछि डोल्पाकी ६६ वर्षीय निलकुमारी थापाले नयाँ जुनी पाएको महसुस गरेकी छन् । उनी लामो समयदेखि आँखाको मोतीबिन्दुका कारण देख्न नसक्ने अवस्थामा थिइन् । ठुली भेरी नगरपालिका–३ दुनै बजारकी थापाले भनिन, “मैले आँखा देख्न छाडेको धेरै भएको थियो । अब त जिन्दगी यस्तै जान्छ कि भन्ने लागेको थियो । उपचारका लागि नेपालगञ्ज जान पनि समस्या थियो, नजिकै उपचारको व्यवस्था थिएन ।”

जिल्ला अस्पतालले गरेको आँखाको निःशुल्क शल्यक्रिया शिविर उनका लागि वरदान बनेर आयो । जिल्ला अस्पताल डोल्पामा गत कात्तिक २६ र २७ गते सञ्चालन भएको शिविरबाट लाभान्वित भएकी उनले सुनाइन्,“हल्ला सुनेपछि अस्पताल गएर सोधेँ, डाक्टरले यतै शिविर बस्दै छ भन्नुभयो । शिविर बस्यो, आँखाको शल्यक्रिया भयो, खर्च बच्यो । त्योभन्दा बढी छर्लङ्ग देख्न थालेपछि नयाँ जुनी पाएकी छु ।”

उनी मात्रै होइन शिविरबाट अन्य ३१ जनाले पनि आँखाको ज्योति पाएका छन् । आँखाको निःशुल्क शल्यक्रिया भएपछि काइके गाउँपालिका–५ बस्ने ६० वर्षीय पेम्बा लामु रोकाया र ठूलीभेरी नगरपालिका–८ बस्ने ५१ वर्षीय कृष्णचन्द शाही पनि निकै खुसी छन् । “गाउँबाट टाढा गएर उपचार गर्न जान समस्या छ । आर्थिक जोहो गर्न पनि सकिँदैन तर आफ्नै जिल्लामा निःशुल्क उपचार पायौँ । त्यसैमा हामीलाई त डाक्टर सापले रु पाँच–पाँच हजार पनि दिनुभयो । योभन्दा अरू खुसी के होला”, दुवै जनाले एक स्वरमा भने । आँखा विशेषज्ञ डा ज्ञानेन्द्र लामिछानेले आर्थिकरूपमा विपन्न रोकाया र शाहीलाई आर्थिक सहयोग गरेका हुन् ।

नेपाल नेत्र ज्योति सङ्घ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम  लुम्बिनी, नेत्र ज्योति संस्थान तथा रिसर्च सेन्टर र श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको आर्थिक तथा प्रविधि सहयोगमा निःशुल्क आँखा मोतीबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको हो ।

जिल्ला अस्पतालका नेत्र सहायक अमृत कठायतले जिल्लाका विभिन्न स्थानमा मोतिविन्दुका बिरामी छनोट शिविर सञ्चालन गरी शल्यक्रिया कार्यक्रम आयोजना गरिएको बताए । आर्थिकरूपले विपन्न नागरिकको जिल्लामै मोतीबिन्दुको निःशुल्क शल्यक्रिया गर्न सहजीकरण गरिएको उनले बताए ।

हिमाली दुर्गम जिल्लाका नागरिकलाई लक्षित गरी जिल्ला अस्पतालमा आँखाको मोतीबिन्दुको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्न पाउँदा खुसी लागेको जिल्ला अस्पतालका चिकित्सा शाखा प्रमुख डा अखण्ड उपाध्यायले बताए । आगामी दिनमा पनि आवश्यकताअनुसार जिल्लामै शिविर आयोजना गरिने उनले बताए ।

 

  • ३ मंसिर २०८१, सोमबार प्रकाशित

  • Nabintech