नेपालगञ्ज:नेपालगञ्ज उपमहानगरपालिकाले सबै अस्पताल तथा निजी स्वास्थ्य संस्थालाई कुल सेवाग्राही तथा शैयाको कम्तिमा १० प्रतिशत तोकिएका सेवाग्राहीलाई अनिवार्य निःशुल्क सेवा दिन निर्देशन दिएको छ ।
उपमहानगरले नेपालगञ्ज उपमहानगरभित्रका सबै अस्पताल तथा निजी स्वास्थ्य संस्थालाई पत्र काट्दै गरिब, विपन्न, असहाय, अपांग, सिमान्तकृत लगायतका सेवाग्राहीहरुलाई अनिवार्य निःशुल्क सेवा दिने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
नगर प्रमुख प्रशान्त विष्टद्वारा जारी गरिएको पत्रमा नेपालगञ्ज उपमहानगरपालिका नगर स्वास्थ्य सेवा ऐन, २०७९ को परिच्छेद ७ को दफा २३ अनुसार स्वास्थ्य संस्था तथा अस्पतालहरुले कुल सेवाग्राही तथा शैयाको कम्तिमा १० प्रतिशत गरिब, विपन्न, असहाय, अपांग, सिमान्तकृत लगातका सेवाग्राहीहरुलाई अनिवार्य निःशुल्क सेवा दिने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइएको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए ।
पटक–पटक पत्राचार गर्दा समेत सेवाग्राहीबाट गुनासो आएको भन्दै उपमहानगरले अब पनि यो निर्देशनलाई अटेरी गर्दै कार्यान्वयन नगरेको पाइएमा कारबाही हुने चेतावनी समेत दिएको छ ।