१४ मंसिर २०८१, शुक्रबार

समता साहित्य उत्सव सम्पन्न
  • न्युज मानसराेवर

इटहरी\ सम्पूर्ण कक्षामा समान शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको इटहरीमा अवस्थित समता स्कुलले ूशब्द, सिर्जना र प्रेरणाको उत्सवू नाराका साथ समता साहित्य उत्सव २०८१ भव्य रूपमा सम्पन्न गरेको छ।

संस्थापक उत्तम संजेलको नेतृत्वमा सञ्चालन भइरहेको समता स्कुलले सम्पूर्ण कक्षामा समान तथा न्यून शुल्कमा अध्यापन गराउँदै विद्यार्थीहरूको सर्वाङ्गिण विकासलाई प्राथमिकता दिँदै आएको छ। यसै प्रयासअन्तर्गत, समता स्कुल पूर्वी कन्सोर्टियमद्वारा आयोजित साहित्य उत्सवले विद्यार्थीहरूलाई सिर्जनशील सोच र साहित्यप्रतिको रुचि विकास गर्ने एउटा महत्त्वपूर्ण मञ्च प्रदान गरेको छ।

कार्यक्रम संयोजक तथा समता पूर्वी कन्सोर्टियमका साहित्य दूत विमल वैद्यका अनुसार, विद्यार्थीहरूलाई साहित्य, संस्कृति र कलासँग जोड्न तथा अग्रज सर्जकहरूसँग परिचित गराउन यो कार्यक्रम आयोजना गरिएको हो। बैद्यकै अग्रसरतामा वि स २०७६ देखि समता साहित्य उत्सव हुँदै आएको हो।तेस्रो संस्करणको यस पटकको साहित्य उत्सवमा देशभरका ५१ जना प्रतिष्ठित साहित्यकारहरूको उपस्थिति रहेको थियो। प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल र प्रमुख वक्ता कवि मनु मञ्जिलले विद्यार्थीहरूलाई सिर्जनात्मक लेखन र इकोराइटिङबारे प्रेरणादायी सम्बोधन गरेका थिए ।
कवि मिश्र वैजयन्तीले विद्यालय र साहित्यको महत्त्वबारे प्रकाश पार्दै विद्यार्थीलाई साहित्यिक यात्रामा अघि बढ्ने प्रेरणा दिए।

काठमाडौं, पोखरा, विराटनगर, धनकुटा, इलाम, दमक, र इटहरी लगायत बाट आउनुभएका साहित्यकारहरूले विद्यार्थीहरूको जिज्ञासा मेटाउँदै आफ्ना उत्कृष्ट सिर्जनाहरू प्रस्तुत गर्नुका साथै विद्यालय स्तरमा यस्ता कार्यक्रम आयोजना गरेकोमा समता स्कुल पूर्वी कन्सर्टियमको मुक्तकण्ठले प्रशंसा गरे।

कार्यक्रमका मुख्य आकर्षणहरूमध्ये अन्तर जिल्ला कविता वाचन प्रतियोगिता पनि आयोजना गरिएको थियो। जसमा समता इलामकी भुमिका देवान प्रथम स्थान, समता इटहरीकी कृतिमा पौडेल दित्तीय, समता दमककी युनिसा चम्लागाईं तृतीय र समता लहानकी लक्ष्मी साहले सान्त्वना स्थानमा हाँसिल गर्न सफल भए।

कार्यक्रमको सभापतित्व समता पूर्वी कन्सोर्टियमका प्रमुख सन्तोष श्रेष्ठले गरेका थिए । श्रेष्ठकै नेतृत्वमा समता स्कुलहरुमा २०७४ सालदेखि विद्यार्थीहरूको प्रतिभा निखार्न विविध अतिरिक्त क्रियाकलापहरू सञ्चालन हुंदै आएको र यो साहित्य उत्सव त्यसको एक हिस्सा भएको उल्लेख गरे ।समता स्कुलले साहित्यिक मात्र नभई सांगीतिक र सांस्कृतिक कार्यक्रमहरू मार्फत पनि विद्यार्थीहरूको समग्र विकासलाई प्रोत्साहित
गरिरहेको छ। यो साहित्यिक उत्सवले विद्यार्थीहरूलाई सिर्जनात्मक क्षमताको अभिव्यक्तिका लागि मञ्च मात्र दिएको छैन, उनीहरूको आत्मविश्वास र क्षमतामा नयाँ आयाम थपेको छ।

कार्यक्रममा प्रबुद्ध साहित्यकारका अलाबा समता स्कुल इलाम, दमक, लहान, भोजपुर, बिराटनगर र सिन्धुलीका विद्यालयका प्रमुख तथा प्रतिनिधि समेत उपस्थित भएका थिए। समता स्कुल इटहरीका अभिभावकहरूको सक्रिय सहभागितामा सम्पन्न यस उत्सवले समता स्कुलको समान र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धता झल्काएको छ। समता पूर्वी कन्सोर्टियमका प्रमुख सन्तोष श्रेष्ठले आगामी वर्ष चौथो संस्करणको साहित्य उत्सव समता स्कुल लहानमा आयोजना गरिने जानकारी समेत दिएका छन।

  • १४ मंसिर २०८१, शुक्रबार प्रकाशित

  • Nabintech