बाँके: बाँकेमा १०१ जना नयाँ एचआइभी संक्रमित फेला परेका छन् । आर्थिक वर्ष २०८०/८१ मा १० हजार ७ सय ५९ मा एचआइभी परीक्षण गर्दा १०१ जना नयाँ एचआइभी संक्रमित पत्ता लागेका हुन् ।
स्वास्थ्य कार्यालय बाँकेका एचआइभी फोकल पर्सन रविन्द्र कुमार साहले बाँकेमा हाल ५९१ जनाले एड्सको नियमित औषधि सेवन गरिरहेका छन् । त्यसमा ७९ जना नयाँ संक्रमित छन् । उनीहरुले भेरी अस्पतालस्थित एआरटी सेन्टरबाट नियमित औषधि सेवन गरिरहेका छन् ।
भेरी अस्पतालका एचआइभी फोकल पर्सन वरिष्ठ फिजिसियन डा. संकेत कुमार रिसालले एआरटी सेवा प्रभावकारी देखिएको बताए । एआरटी सेवा लिइरहेका एचआइभी संक्रमित बुवाआमाबाट जन्मिएका बच्चा संक्रमणमुक्त रहेको डा. रिसालले जानकारी दिए । उनले पछिल्लो ६ बर्षमा एक जना बाहेक सबै संक्रमणमुक्त जन्मिएको बताए ।
एड्स हेल्थकेयर फाउन्डेसनका कार्यक्रम संयोजक सन्जय कुमार पौडेलले भेरी अस्पतालको एआरटी युनिटमा सन् २०१७ जुलाईदेखि काम गर्दै आएको बताए । एड्स हेल्थकेयर फाउन्डेसनले एचआइभी संक्रमितहरुको प्रभावकारी उपचारमा सहजीकरण तथा रोकथामका लागि सचेतीकरण गर्दै आएको छ ।
यस वर्ष “एड्स अन्त्यको लागि सबैको अधिकार सुनिश्चित गरौं” भन्ने नाराका साथ ३७औं विश्व एड्स दिवस मनाइँदैछ । प्रत्येक बर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाइन्छ । विश्व एड्स दिवसको पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जमा आज पत्रकारसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले पनि बोलेका थिए । स्वास्थ्य कार्यालय बाँकेकी दुर्गा गौतमले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।एड्स दिवसको अवसरमा भोलि विहान नेपालगञ्जमा प्रभातफेरि तथा अपरान्ह सचेतीकरण प्रबद्र्धन गर्न बीपी चोकमा म्युजिकल कन्सर्ट आयोजना गरिँदैछ ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार सन् २०२३ अन्त्यसम्म नेपालमा ३० हजार ३ सय व्यक्तिमा एचआइभी संक्रमण भएको अनुमान छ । नेपालमा हरेक दिन १ जना मानिसमा एचआइभी संक्रमण हुन्छ । नेपालमा सन् २०३० सम्ममा एचआइभी संक्रमण अन्त्य गर्ने लक्ष्य छ ।