१२ पुष २०८१, शुक्रबार

महिला जनप्रतिनिधिलाई कानुन सिकाउँदै नेपालगगञ्ज उपमहानगरपालिका
  • न्युज मानसराेवर

नेपालगञ्ज: नेपालगञ्ज उपमहानगरपालिकाले महिला जनप्रतिनिधिलाई सक्षम बनाउन कानुन सिकाउँदैछ । महिला कार्यपालिका सदस्य तथा महिला वडा सदस्यहरुलाई आवश्यक कानुन सिकाई जागरुक बनाउन दुई दिने तालिम आयोजना गरिएको छ ।

आजदेखि सुरु भएको दुई दिने तालिममा नयाँ कानुनको व्यवस्था, लैंगिकता, महिला कानुनी अधिकार, संविधान तथा सिडअ अर्थात महिला विरुद्ध हुने सबै प्रकारका विभेद अन्त्य गर्ने महासन्धि १९७९ का प्रावधान र युएनओको प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धि जानकारी प्रदान गरिने महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख महिला विकास अधिकृत मञ्जु पाण्डेले बताइन् ।

पाण्डेका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला महिला जनप्रतिनिधिलाई जागरुक र सक्षम बनाई क्षमता विकास गर्न तालिम आयोजना गरिएको हो । यसपटक “हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदैछ ।

तालिममा नेपालगञ्ज उपमहानगरपालिकाका महिला कार्यपालिका सदस्य तथा सबै महिला वडा सदस्य, विभिन्न सरोकारवाला शाखामा कार्यरत कर्मचारी, केही सरोकारवाला संघसंस्थाका प्रतिनिधि गरी ५० जनाको सहभागिता रहेको छ ।

तालिममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख उमा थापा मगर, वरिष्ठ अधिबक्ता लोक बहादुर शाह, अधिबक्ताहरु वसन्त गौतम र सुनिता शर्मा तथा महिला विकास अधिकृत पाण्डेले सहजीकरण गरिरहेका छन् ।

 

  • १७ मंसिर २०८१, सोमबार प्रकाशित

  • Nabintech