बैजनाथ,बाँके: बाँकेको बैजनाथ गाउँपालिका अन्तर्गतका विद्यालयमा जलवायु न्याय क्लबमा आबद्ध बालिकाहरूको क्षमता मापन तथा कार्यक्रमको अनुगमन गर्न पुगेका जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले मानिसको स्वास्थ्यसँग जोडिएको जलवायुका विषयमा चलेको कार्यक्रम प्रभावकारी र आवश्यक रहेको बताएका छन् ।
अनुगमनको क्रममा बालिका र शिक्षकहरूसँगको छलफल पश्चात् कार्यक्रम प्रभावकारी भएको पाइएको भन्दै कार्यक्रमको निरन्तरताका लागि स्थानीय सरकार र अन्य सरोकारवालाहरुले योजना बनाउनु पर्ने जिकिर गरे । उनले कार्यक्रमको निरन्तरताका लागि जिल्ला समन्वय समितिले भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरेका थिए ।
रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा गरिएको अनुगमनमा बोल्दै शिक्षा समन्वय इकाईका प्रमुख राम सुरेश यादवले अनुगमनको क्रममा बालिकामा आएको परिवर्तन हेर्दा कार्यक्रमलाई थप विस्तार गर्दै लैजानुपर्ने आवश्यकता रहेको औँल्याए ।
कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका बाँकेका उपाध्यक्ष निर्मला रोकायाले कार्यक्रमले बालिकामा आएको परिवर्तनले हामी ऊर्जा दिएको बताउँदै कार्यक्रमको निरन्तरताका लागि पालिकाले आवश्यक योजना निर्माण गर्ने प्रतिबद्धता गरेकी थिइन् ।
अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सिता कार्की, जिल्ला समन्वय अधिकारी बिक्रम प्रसाद पाण्डे, प्रवक्ता शान्ता कुमार थारु, शिक्षा समन्वय इकाई प्रमुख राम सुरेश यादव, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाया, वडा नम्बर ५ का अध्यक्ष देब बहादुर रावत, गैर सरकारी संस्था महासङ्घ बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, सचिव रमेश सिटौला, रुम टु रिडका सिनियर फिल्ड कार्यक्रम मेनेजर खड्ग बहादुर कुँवर, बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा लगायतको उपस्थिति रहेको थियो ।