२१ पुष २०८१, आईतवार

एक वर्षमा आए साढे ११ लाख विदेशी पर्यटक
  • न्युज मानसराेवर

बाँके\सन् २०२४ मा ११ लाख ४०  हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्यांकअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै  सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले  पर्यटक आगमन बढेको  जानकारी दिए । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो ।

राष्ट्रसंघीय विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) को पछिल्लो ६ महिनाको तथ्यांकअनुसार कोभिड–१९पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका  मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको हो ।

  • १६ पुष २०८१, मंगलवार प्रकाशित

  • Nabintech