२ माघ २०८१, बुधबार

थारू बस्तीमा माघीको खुसीयाली
  • न्युज मानसराेवर

बाँके\नयाँ वर्षका रूपमा लिइने माघी पर्वले थारू बस्तीमा खुसीयाली बढाएको छ ।

पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका थारू गाउँमा यतिबेला माघीको रौनक र चहलपहल बढेको बाँके राप्ती सोनारी गाउँपालिका–३ बैजापुर निवासी थारू अगुवा तुलसीराम थारूले बताए । “माघीका अवसरमा नाचिने माघीनाच, छोक्रा, हुर्दुग्वा, लठहवालगायत नाच थारू गाउँमा सुरु भएका छन्”, उनले भने, “गाउँगाउँमा नाचसँगै माघीको चहलपहल सुरु भएको छ । माघीकै अवसरमा घरघरमा नाचगान गरेर दक्षिणासमेत उठाउने चलन  छ ।”

पुसको अन्तिमदेखि माघको मध्यसम्ममा थारू समुदायले माघी पर्व मनाउने गर्छन् । थारू समुदायमा माघीलाई विशेष महत्वका साथ हेरिन्छ । माघीदेखि नै समुदायमा नयाँ कामको र नयाँ व्यवस्थलागू हुने भएकाले यसलाई विशेष रूपमा हेरिने गरेको बाँके बैजनाथका थारू अगुवा चन्द्रबहादुर चौधरीले बताए ।

माघीलाई थारू समुदायमा आ–आफ्नै तरिकाले मनाउने तर नीति व्यवस्था र गाउँ सञ्चालन प्रक्रिया भने एक वर्षलाई एउटै प्रकृतिको हुने हुँदा यसले रोचकता बढाएको उनले बताए । “माघी आएसँगै थारूगाउँमा माघीको रौनक र चहलपहल छुट्टै बढेको छ”, थारू अगुवा चौधरीले भने, “नयाँ पुस्तामा संकृतिको संरक्षण र परिस्कृत गर्ने सोच पनि पलाएको छ ।

” माघी थारू समुदायको चाडमात्र नभएर यस अवसरमा नयाँ रीतिथिति, नयाँ अगुवा (मतहवा, भल्मन्सा, मतहवा, बरघर) चुन्ने र नीतिनियम निर्माण गर्ने पर्वका रूपमा रहेको चौधरीको भनाइ छ । पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारू समुदायको बाक्लो बस्ती रहेकाले पनि माघीको यी जिल्लामा अझ विशेष महत्वकासाथ मनाउने परम्परा छ ।

  • १ माघ २०८१, मंगलवार प्रकाशित

  • Nabintech