बाँके\बाँकेमा यो वर्ष ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिएका छन् । यो वर्ष गरिएको चरा गणनाको नतिजा अनुसार उक्त सङ्ख्यामा जलचर चरा भेटिएका हुन् ।राप्तिसोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ति नदीबाट सुरु गरिएको गणना तथा सर्वेक्षणमा थप ३२ प्रजातिका चरा भेटिएका चरा संरक्षणकर्मी आशिष चौधरीले जानकारी दिए ।
“जिल्लास्थित राप्ती नदीको कुसुमबाट अगैया क्षेत्र र विभिन्न ताल एवं नदीमा जलचर चराको गणना तथा सर्वेक्षण गर्दा यो वर्ष ३२ प्रजातिका थप चरा भेटिएका हुन्”, उनले भने, “अघिल्लो वर्षको तुलनामा यो वर्ष नयाँ चराको सङ्ख्या बढेको छ ।”
चौधरीले कान्तितालमा हिउँदे आगन्तुक पानी चरा २० प्रजाति र जिल्लाभरि ३२ प्रजातिका भेटिएका जानकारी दिए । जलचरा संरक्षणका लागि सिमसार नदीनालाको संरक्षण र अन्य पूर्वाधार व्यवस्थापन प्रभावकारी बनाउन सके चराको सङ्ख्या थप वृद्धि हुने उनको भनाइ छ ।
चराविद् राम शाहीले पानी चराको बासस्थान र संरक्षणको अवस्थाका बारेमा विस्तृतमा सूचना तथा जानकारी प्राप्त हुने भएकाले चरा गणना गरिएको बताए ।
उनले बाँकेको राप्तीनदी तटिय क्षेत्र, सुतैया ताल, कान्तितालमा सिलसिले हाँस र जल कौवासँगै अन्य वकुला प्रजातिका चराका लागि बासस्थान सुरक्षित रहेको जानकारी दिए । बर्सेनि हुने सर्वेक्षण तथा गणनाबाट चराको बासस्थान व्यवस्थापनका लागि अपनाउनुपर्ने उपायका बारेमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । बर्दियामा पनि चराको सर्वेक्षण तथा गणना सकिएको छ । रैथाने चराको गरणा हुन बाँकी रहेको चरा संरक्षणकर्मीले बताएका छन।