राजतन्त्र पुनस्र्थापनाका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले खुल्लारुपमा दलहरुलाई चुनौती दिएपछि राजावादीहरु राजदरबार घेर्न पुगेका छन् । दलका नेता तथा कार्यकर्ता तमासे बनेर हेरिरहेका छन् ।
यो पछिल्लो दुई हप्तायताको दृश्य हो । आउँदो वैशाखसम्म राजालाई नारायणहिटीमा पुनस्र्थापना गराएरै छाड्ने अठोट लिएकाहरु भीडन्तको मुडमा छन् । हिजो र आज सत्ताको नेतृत्व गर्नेहरु भने एक–अर्कालाई आरोप लगाएर संसदीय व्यवस्थालाई नै कुरुप बनाउने खेलमा सक्रिय छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र मुलुकमा राजतन्त्र स्थापना भए त्यसलाई आलोचनात्मक समर्थन गर्न तयार छ तर अहिलेको सरकारलाई कुनै हालतमा स्वीकार गर्ने पक्षमा देखिँदैन । दल–दलबीचको विभाजनको फाइदा अहिले दलीय व्यवस्था विरोधी तत्वले लिइरहँदा पनि दलका नेतामा चेत आउन नसक्नु अर्को विडम्बना मान्नुपर्दछ ।
मुलुकबाट ‘निरङ्कुश राजतन्त्र’ हटेको साढे तीन दशकभित्रमै राजतन्त्र पुनस्र्थापना गर्ने भन्दै जमात लिएर केही व्यक्ति नाराहिटी दरबारअघि पुग्दा दलका नेता तथा कार्यकर्ता निरीह भएर उनीहरुको चर्तिकला हेर्नुपर्ने अवस्था सिर्जना हुनु पक्कै पनि राम्रो होइन । आज दलीय व्यवस्थाका कारण जसलाई जे मन लाग्यो त्यो बेपरबाह भन्न पाइरहेको अवस्था छ ।
हिजो पूर्वराजा ज्ञानेन्द्रले दलमाथि प्रतिबन्ध लगाउँदै शासन चलाउने क्रममा देखाएको व्यवहार आज पनि आम नेपाली जनताले नदेखको वा नभोगेको होइन, तर पनि आज राजसंस्थाको पक्षमा जनता खुल्दै जानुले अहिलेको व्यवस्था कुरुप भएको त होइन ? भन्ने प्रश्न जन्मेको छ । व्यवस्थामाथि धावा बोल्दासमेत चुँ बोल्न नसक्ने अवस्थामा सरकार पुगेकै हो त ? यो आम प्रश्न खडा भएको छ ।
दलमाथि लाग्दै आएको आरोपलाई खण्डन गर्ने बलियो आधारसमेत भेट्न मुस्किल पर्दै जानुले पनि यो सरकार किन र कसका लागि भन्ने प्रश्न पनि खडा भएको छ । तर संसदीय व्यवस्थाको विकल्प राजसंस्था हुन सक्दैन । त्यसैले अहिलेको यो व्यवस्थालाई चलाउनेहरुमा देखिएको बेथिति र विसंगतिलाई कसरी हटाउन सकिन्छ भन्नेतर्फ लाग्नु उचित हुन्छ ।
तीन दशकदेखि एउटै अनुहार कहिले कुन रुपमा त कहिले कुन रुपमा प्रस्तुत हुँदै जानु र उनीहरुमा देश विकासको भावना कम हुनुले पनि जनतामा निराशा छाएको अनुमान गर्न सकिन्छ । मुलुक बनाउनुपर्ने युवाशक्ति तीव्ररुपमा पलायन हुनु र राज्यले जनतालाई रोजगारी दिन नसक्नुले पनि दलमाथि प्रश्नचिह्न खडा हुने क्रम तीव्र भएको छ । त्यसैले मुलुक बनाउने अभियानमा सबै जुट्नु जरुरी भइसकेको छ ।