बाँके\लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जनाईएको छ ।नेपालगन्ज रङ्गशालामा वैशाख ५ गतेदेखि १२ गतेसम्म चल्ने प्रतियोगितालाई भव्य र सभ्य बनाउन रङ्गशाला सरसफाई, रङ्गरोगन, खेलाडी आवास, यातायातको ब्यबस्था लगायतका सबै काम पूरा भइसकेको प्रतियोगिता आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताएका छन।
शाहका अनुसार टिकट बिक्री, पार्किङ ब्यबस्थापन, खेलाडीकालागि आवास ब्यबस्थापन र खेलाडी बसोबास भएको स्थानदेखि रङ्गशालासम्म यातायताको ब्यवस्थापन समेत गरिसकिएको छ ।प्रतियोगितामा सहभागि हुने टिमहरु नेपालगन्ज पुग्ने क्रम पनि सुरु भएको मिडिया संयोजक निरज गौतमले बताउनुभयो । उहाँका अनुसार, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टिम नेपालगन्ज आइसकेको छ । नेपाल र भारतका गरेर ८ वटा टिमको सहभागिता रहने सो प्रतियोगितामा प्रतिष्पर्धा गर्ने अन्य टिमहरु पनि विहिबार नेपालगन्ज पुग्नेछन् ।
प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदुर पश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमले प्रतिस्पर्धा गर्ने छन ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुनलागेको प्रतियोगिताको विजेता टिमले पाँच लाख पाँच हजार ५५५ रुपियाँ र उपविजेता टिमले दुई लाख ५० हजार रुपियाँ, ट्रफी, मेडल लगायतका पुरस्कार प्राप्त गर्ने मिडिया संयोजक गौतमले बताए ।लुम्बिनी कपमा घोषणा गरिएको पुरस्कार राशी अहिलेसम्मकै उत्कृष्ट भएको आयोजकको दाबी छ । प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने आयोजकको बिश्वास छ ।