बाँके\आज सोमबार लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौमस पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ ।
देशका हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ ।
लुम्बिनी प्रदेशका केही स्थान, सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।