बाँके\लुम्बिनी प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेश सरकारका निवर्तमान सामाजिक बिकास मन्त्री रत्न खत्रीले आफनो नाम जोडेर केही अनलाईन सञ्चार माध्यममा प्रकाशित र प्रशारित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन।
यातायात ब्यवस्था कार्यालयका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानको क्रममा आफुलाई पनि छानबिनको दायरामा परेको भन्दै प्रकाशित समाचारमा कुनैपनि प्रकारको सत्यतता नभएको खत्रीले दाबी गरेका छन।
यो समाचार पूर्णरुपमा तथ्यहिन, निराधार र प्रतिसोधपूर्ण रहेको खत्रीको भनाई छ । आफ्नो ब्यक्तिगत र राजनीतिक छवीलाई बदनाम गर्न नियोजित र उद्धेश्यपूर्णरुपमा फैलाइएको समाचारको कुनैपनि सत्यता नभएकाले बिश्वासमा नपर्न सबैमा अपिल समेत गरेका छन।
राजनीतिक जीवनमा सधै पारदर्शिता, जवाफदेहिता र कानूनी मर्यदालाई प्राथमिकता दिएको र सदन तथा सार्बजनिक फोरममा यातायात ब्यवस्था कार्यालय सुधारका लागि आफुले सधै जोड दिएको स्मरण गरेका छन। खत्रीले गलत नियतका साथ आफुले कहिँकतैबाट एक रुपियाँ पनि लाभ लिएको पुष्टि गर्न चुनौंती दिदै आम नागरिकमा कुनैपनि भ्रामक प्रचारबाट बिचलित नहुन आग्रह गरेका छन।