कोहलपुर\कोहलपुर नगरस्तरिय प्रथम खुल्ला बुद्धिचाल प्रतियोगिताको आज समापन भएको छ । नगर प्रमुख पुर्ण प्रसाद आचार्यले जेठ ३० गते उद्घाटन गरेको प्रतियोगिताको आज ७ राउन्डका खेलहरु सम्पन्न भएसंगै समापन भएको हो ।
७ राउन्डका खेलमा ५ जित र २ बराबरी सहित जम्मा ६ अंकका साथ पञ्चमुखी ई. मि. स्कुलका छात्र कृष्ण बोहोरा प्रथम बन्न सफल भएका
छन । समान ६ अंकका साथ ट्राइब्रेकरका आधारमा कोहलपुर-२ निवासी भूपू प्रहरी हस्त बहादुर थापा दोस्रो भए ।
प्रतियोगितामा खुल्ला तर्फ पञ्चमुखी स्कुलकै शुशान्त चन्द तथा शुभम चन्द क्रमशः तेस्रो तथा चौथो बन्दा कोहलपुर बागेश्वरी ई.मि. स्कुलका छात्र मानव न्यौपानेले पाचौं स्थान प्राप्त गर्न सफल भएका छन । त्यसैगरी विद्यार्थी छात्र तर्फ जनज्योति पब्लिक स्कुलका छात्र बिबेक आचार्य प्रथम हुँदा सोही विद्यालयका सालिक रोकाय दोस्रो तथा पञ्चमुखी स्कुलका भिजन सिंह तेस्रो बनें ।
छात्रा तर्फ जनज्योति स्कुलकै अस्मिता शाह प्रथम बनिन भने दिपज्योती विद्याश्रमकी छात्रा मेनुका शाही दोस्रो तथा जनज्योति स्कुलकि बिहानी रोकाय तेस्रो बनिन । सगरमाथा ज्ञानपुञ्ज माध्यमिक विद्यालयका छात्र विपिन उपाध्याय १० वर्ष मुनि उत्कृष्ट छात्र बन्न सफल हुँदा बागेश्वरी एकेडमीकि समिरा रास्कोटी १० वर्ष मुनिको उत्कृष्ट छात्रा बनिन ।
साथै, कोहलपुर वडा नं ३ कि चेस खेलाडी भावना शर्माले उत्कृष्ट अनुशासित खेलाडीको रुपमा सम्मानित भइन । उक्त प्रतियोगितामा कोहलपुर नगरभित्रका जम्मा ५५ जना खेलाडीको सहभागीता रहेको थियो ।