बाँके\नेपालगन्ज उपमहानगरपालिकाले १ अर्ब ६४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । नेपालगन्जको भवानीयापुरस्थित सिटी हलमा मंगलबार नगर उपप्रमुख कमरुद्धिन राईले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ ६७ पैसा बराबरको अनुमानित आय/व्यय विवरण सार्वजनिक गरे ।
बजेटमा चालूतर्फ ३८ करोड ५६ लाख रुपैयाँ, आम्दानीतर्फ बित्तीय समानीकरण संघबाट २६ करोड ७९ लाख, प्रदेशबाट १ करोड ९० लाख प्राप्त हुँदा आन्तरिक आय २२ करोड १२ लाख रुपैयाँ प्रक्षेपण गरिएको छ । बजेटमा उपमहानगर भरी रहेका २३ वटै वडा कार्यालयका लागि २० करोड रुपैयाँ र महाशाखा शाखामार्फत सञ्चालन हुने गरी ८ करोड २५ लाख २४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सभामा नगर प्रमुख प्रशान्त बिष्टले आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे । नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, खेलकुद, पूर्वाधार, कृषि, पर्यटन, उद्योग ब्यापार, रोजगार लगायत क्षेत्रलाई समेटिएको छ ।