२३ असार २०८२, सोमबार

समता इटहरीले गर्‍यो शिक्षक अभिभावक लाई सम्मान
  • न्युज मानसराेवर

इटहरी । “सस्तोमा पनि स्तरीय शिक्षा सम्भव छ” भन्ने नारालाई व्यवहारमा उतार्दै आएको समता स्कुल इटहरीले गत शैक्षिक वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा दिलाउन योगदान पु‍र्‍याउने शिक्षक र अभिभावकहरूलाई एक विशेष समारोहका बीच सम्मानित गरेको छ।

कार्यक्रममा विद्यालयले सफल नतिजाका मूल आधार मानिएका शिक्षक र निरन्तर साथ दिने अभिभावकलाई खादा र माला अर्पण गरी सम्मान गरेको हो। कार्यक्रममा सहभागी अभिभावक र विद्यार्थीहरूले विद्यालय प्रशासन, शिक्षकहरू र समग्र समता परिवारको समर्पण र प्रयासका लागि आभार व्यक्त गरे।

अभिभावकको विश्वास, विद्यालयको प्रतिबद्धता

समारोहमा बोल्दै विद्यार्थी रितिका खड्काका पिता योगेन्द्र बहादुर खड्काले छोरीलाई नर्सरी कक्षादेखि नै समता स्कुलमा अध्ययन गराएको उल्लेख गर्दै, “धेरैले सस्तो शुल्कको विद्यालयमा गुणस्तर हुँदैन भनेका थिए। तर मैले विद्यालयप्रतिको विश्वास कहिल्यै गुमाइँन, र आज त्यो विश्वासले सार्थकता पाएको छ,” भन्दै गहकिलो सन्देश दिएका थिए। उनले स्कुल स्थापना प्रारम्भिक दिनमा भोगिएको चुनौतीलाई पनि स्मरण गरे — “कसैकसैले विद्यालय हटाउन खोजे, तर आज त्यही विद्यालयले इटहरीमा शैक्षिक जग बलियो बनाउँदैछ।”

अर्की अभिभावक मनु राईले भने, “समताले मेरो छोरीलाई पढाइसँगै संगीत, नृत्य, उदघोषण जस्ता विविध क्षेत्रमा आत्मविश्वासी बनाएको छ। यो विद्यालय वास्तवमै समग्र व्यक्तित्व विकासमा समर्पित छ।” भन्दै विद्यालयप्रतिको उच्च सम्मान व्यक्त गरिन्। उनले आफ्ना मन्तव्यमा आफ्नी छोरीलाई समता स्कुल ल्याउंने पुर्‍याउने बेला छिमेकी र आफन्तले यस्तो स्कुलमा पढाइ राम्रो हुंदैन अलि महंगो शुल्क लिनेमा पढाउनुपर्छ भन्ने गरेको कुरा स्मरम गरिन।

विद्यार्थीको प्रेरणादायक अनुभव

सर्वोत्कृष्ट ३.८६ जीपीए ल्याएका विद्यार्थी अनिस थापाले आफ्ना उपलब्धिको श्रेय शिक्षकहरूको मार्गदर्शन र निरन्तर प्रोत्साहनलाई दिए। “शिक्षकहरूको हौसला बिना यो सम्भव हुने थिएन,” उनले भने।

नर्सरी कक्षादेखि समतामा अध्ययन गरी एसईई मा ३.६१ जीपीए ल्याएकी सिवानी लम्सालले आफ्नो मन्तव्यको क्रममा भावुक हुँदै भनिन्, “मैले अक्षर चिन्न सुरु गरेको स्कुलबाट आज विदा हुँदैछु, धेरै गाह्रो लागिरहेको छ। मेरा लागि यहाँका शिक्षक सदैव प्ररणाका श्रोत रहनुभयो। म सफल वा असफल हुंदा संधै मेरो साथमा रहनुभयो निरन्तर हौसला दिनुभयो।” उनको मन्तव्यले उपस्थित धेरैलाई भावुक बनायो।

विद्यार्थी अभिषेक खतिवडाले विद्यालयले आफूलाई पढाइसँगै जीवन–कौशल, नेतृत्व क्षमता र आत्मविश्वास प्रदान गरेको अनुभव सुनाए। “समताले हरेक विद्यार्थीमा लुकेको प्रतिभा उजागर गर्न कहिल्यै कसर बाँकी राख्दैन,” उनको भनाइ थियो। उनले एस इ इ मा ३.६३ जिपिए ल्याउन सफल भएका थिए।

प्रेरणादायक नतिजा

गत शैक्षिक वर्षमा विद्यालयबाट ४७ जना विद्यार्थी एसईई मा सहभागी भएका थिए। तीमध्ये ५ जनाले ३.६१ देखि ४.० जीपीए, २३ जनाले ३.२१ देखि ३.६० जीपीए र बाँकीले २.८१ देखि ३.२० जीपीए हासिल गरेका थिए। यो परिणाम विद्यालयको निरन्तर परिश्रम, समर्पित शिक्षक र अभिभावकको सहकार्यको प्रतिफल हो।

गरिमामय उपस्थितिमा सम्पन्न कार्यक्रम

विद्यालय परिसरमा आयोजित सो सम्मान कार्यक्रमको सञ्चालन नेपाली विषयका शिक्षक तेज प्रसाद सुवेदीले गरेका थिए भने अध्यक्षता निमित्त प्रधानाध्यापक विपुल ओझाले गरेका थिए। कार्यक्रममा बेबिलोन सगरमाथाका प्राचार्य प्रकाश शर्मा, बेबिलोन स्कुलका प्रधानाध्यापक कुसुम राई, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

  • २३ असार २०८२, सोमबार प्रकाशित

  • Nabintech