कर्णाली\सुर्खेतमा ठूलो मात्रामा नक्कली नोट र लागूऔषध अफिमसहित पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले एकैसाथ नक्कली नोट कारोबार तथा लागुऔषध कारोबारमा संलग्नहरूलाई पक्राउ गर्दै ठूलो परिमाणमा अवैध सामग्री बरामद गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका–५ की २२ वर्षीया दिलमाया सिंह ठकुरी, ३३ वर्षीय रामबहादुर सिंह, भेरीगंगा नगरपालिका–१२ ठकुरीटोलमा डेरा गरी बस्ने ३५ वर्षीय कृष्णबहादुर वली, ३८ वर्षीय प्रेमबहादुर बिक र बाँके कोहलपुर नगरपालिका–११ मा जनगर्जन नेटवर्क प्रालि नामक मिडिया सञ्चालन गर्दै आएका ३४ वर्षीय मनबहादुर सहकारी रहेका छन्।
असार ३१ गते बिहान ८:३० बजे लागुऔषध तथा नक्कली नोट सम्बन्धी अनुसन्धानका क्रममा कोहलपुर नगरपालिका–११ स्थित न्युरोडमा रहेको मनबहादुर सहकारीको मिडिया कार्यालय तथा बसोबास गरिरहेको कोठाबाट प्रहरीले थप ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट, १९ किलो ३०० ग्राम लागुऔषध, नोट बनाउने क्यानन प्रिन्टर, कम्प्युटर सेट, क्यामेरा, कार्ड डिटर, चिप्स मेमोरीजस्ता सामग्रीहरू समेत फेला पारेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजंग बुढाथापाका अनुसार, पक्राउ परेकामाथि लागुऔषध तथा मुद्रा अपचलन सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।