२९ आश्विन २०८२, बुधबार

सकियो प्रतिक्षाको घडी ! नेपाल दुई खेलअगावै टी–२० विश्वकपमा
  • न्युज मानसराेवर

एजेन्सी \नेपाली टोलीले तेस्रो पटक आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने पक्का भएको छ । नेपाली टोली ओमानमा जारी एसिया–प्रशान्त क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा अब्बल प्रदर्शनसहित विश्वकपमा पुगेको हो ।नेपाली टोली समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि, नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । त्यसपछि नेपालले सन् २०२४ मा टी–२० विश्वकप खेलेको थियो ।

जारी छनोट प्रतियोगितामा आफ्नो दुई खेल खेल्न बाँकी रहँदै नेपाली टोलीको विश्वकप सहभागिता पक्का भएको हो । छनोट  प्रतियोगिता अन्तर्गत बुधबार खेलिएको ‘सुपर–६’ चरणको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले सामोआलाई ७७ रनले हराएसँगै विश्वकपमा नेपालको स्थान पक्का भएको हो । नेपालसँगै आयोजक ओमान पनि विश्वकपमा पुगेको छ । ‘सुपर–६’ चरणको तालिकामा ओमान ६ अंकसहित पहिलो स्थानमा छ । समान अंक बटुलेको नेपाल दोस्रो स्थानमा छ । नेपाली टोली नेट रन रेटमा ओमानसँग पछि परेको हो ।

नेपाल र ओमानले अब दुई–दुई खेल खेल्न बाँकी छ । यूएई चार अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ । यूएईले अब एक खेलमात्र खेल्न बाँकी छ । जापान दुई अंकसहित चौथो स्थानमा छ । जापानले अब दुई खेल खेल्न बाँकी छ । यसैगरी, कतार दुई अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । कतारले अब एक खेलमात्र खेल्न बाँकी रहेको छ । हालसम्म अंक बटुल्न नसकेको सामोआ भने तालिकाको छैटौँ स्थानमा छ । सामोआले अब दुई खेल खेल्न बाँकी छ । ‘सुपर–६’ चरणको खेलको समाप्तिपछि अंक तालिकाको पहिलो, दोस्रो र तेस्रो स्थानमा रहने टोली आगामी टी–२० विश्वकपमा छनोट हुने प्रावधान छ ।

‘सुपर–६’ चरणमा जापान र यूएई आपसमा भिड्न बाँकी नै रहेकाले नेपाल र ओमान दुई खेलअगावै विश्वकपमा छनोट भएका हुन् ।जापानविरुद्धको खेलमा पराजित भए यूएईको अंक चारमात्र हुनेछ । त्यो खेल अनिर्णित रुपमा सकिए यूएईको अंक पाँच पुग्नेछ ।

यी दुबै स्थितिमा यूएईको अंक नेपाल र ओमानकोभन्दा कम हुनेछ । तर, जापानविरुद्धको खेलमा विजयी भए यूएईको अंक पनि ६ पुग्नेछ । यस्तो स्थितिमा नेपाल र ओमानसँगै यूएई पनि विश्वकपमा छनोट हुनेछ । यसैगरी, जापानी टोली बाँकी दुवै खेलमा विजयी भए यूएई प्रतियोगिताबाट बाहिरिने छ । यस्तो स्थितिमा नेपाल र ओमानसँगै जापान आगामी विश्वकपमा छनोट हुनेछ । कतारले अब एक खेलमात्र खेल्न बाँकी रहेकाले आफ्नो अन्तिम खेलमा विजयी भए पनि कतारको अंक चारमात्र पुग्नेछ ।यसैगरी, सामोआले अब दुई खेल खेल्न बाँकी छ ।

ती दुबै खेलमा विजयी भए पनि सामोआको अंक चारमात्र पुग्नेछ । यस्तो स्थितिमा सामोआले पनि नेपाल र ओमानलाई उछिन्न सक्ने अवस्था छैन । जारी छनोट प्रतियोगिताको सबैभन्दा महतवपूर्ण खेल पनि बुधबार राति नै खेलिँदैछ । उक्त खेलमा तालिकाको पहिलो स्थानमा आसिन ओमान र दोस्रो स्थानमा आसिन नेपाल आपसमा भिड्दै छन् ।नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार, राति २०:४५ बजे सुरु
हुनेछ । यो खेलमा विजयी हुने टोली नै जारी छनोट प्रतियोगिताको च्याम्पियन बन्ने बलियो सम्भावना छ ।

 

  • २९ आश्विन २०८२, बुधबार प्रकाशित

  • Nabintech