बाँके\नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबार जारी पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १४४ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लम्बिनीले १९.४ ओभरमा अलआउट हुनुअघि १४३ रन बनाएको हो ।
लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले ३५ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले ३६ बलमा तीन चौका प्रहार गरे ।
दिलीप नाथले पनि टोलीको खातामा ३१ रन थपे । चौथो नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान दिलीपले २९ बलमा एक छक्का र दुई चौका पनि हिर्काए ।ओपनर ब्याट्सम्यान डी’आर्ची सर्ट ११ बलमा चार चौकाको मद्दतले १८ रन बनाउँदै आउट भए । अर्का ओपनर सुमित महर्जनले पनि १४ बलमा तीन चौकाको मद्दतले १८ रन बनाए ।
गुलबदिन नाइब नौ बलमा दुई चौकाको मद्दतले ११ रन बनाउँदै आउट भए । शेर मल्ल चार रनमै पेभेलियन फर्किए । रुबेन ट्रम्पलम्यानले खातासम्म खोल्न सकेनन् ।














