८ जेष्ठ २०८३, शुक्रबार

२ दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो
  • न्युज मानसराेवर

सुदुरपश्चिम \बाजुरा र हुम्लाबीच उत्पन्न रानीसैन विवादका कारण बाजुराको हिमाली गाउँपालिकाका विभिन्न ठाउँमा २ दिनदेखि अवरुद्ध कर्णाली करिडोर शुक्रबार मध्यान्हदेखि खुलेको छ । आन्दोलनरत हिमाली युवा समूह तथा हिमाली गाउँपालिकाका राजनीतिक दल र जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल गुल्म हेड क्वाटर बाजुराबीच विवाद समाधानमा सम्झौता भएसँगै राजमार्गमा सवारी आवागमन नियमित भएको हो ।

हिमाली गाउँपालिका-३ लाम्पाटामा २ देखि ४ जेठसम्म हुम्ला खार्पूनाथ गाउँपालिकाका- २ र ३ बाट आएका मानिसले घरभित्रै पसेर कुटपिट र लुटपाट गरेको भन्दै उक्त घटनाको छनबिनको माग गर्दै हिमाली युवा समूहले आन्दोलन गरेको थियो । आन्दोलन स्वरुप उनीहरूले राजमार्गका विभिन्न स्थानमा अवरोध गरेका थिए । हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लको रोहवरमा सडक अवरुद्धकर्ता समूह हिमाली युवा क्लबले रानीसैन घटनाको छानबिन तथा दोषीमाथि कारबाही गर्ने सहमतिपछि सडक आवागमन सुरु गरिएको हो ।

धुलाचौर हिमाली गाउँपालिकाको केन्द्र हो । उक्त ठाउँमा सडक अवरुद्ध गर्दा हुम्ला आवतजात गर्ने दर्जनौं सवारी साधन रोकिएका थिए भने सयौं यात्रीले अलपत्र अवस्थामा थिए । कांग्रेस, एमाले र रास्वपाका स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा विभिन्न ६ बुँदे माग राखेर सडक आवागमन चौबिस घण्टाका लागि सञ्चालन भएको हो । सडक अवरोधकर्ताहरूले लाम्पाटा घटनाको छानबिन, दोषीउपर कारबाही, विस्थापितहरूको पुनर्थापना, लुटपाट गरिएका सामग्रीको क्षतिपूर्ति, प्रहरी चौकी निर्माणलगायतका माग राखेका थिए ।

यसकारण रानीसैनामा उत्पन्न भएको थियो  विवाद

बाजुराको हिमाली–३ लाम्पाटामा बाजुरा र हुम्लाका बासिन्दाबीच विवाद उत्पन्न भएको थियो । बाजुरा पक्षले लाम्पाटामा अस्थायी प्रहरी चौकी भवन निर्माण गर्न लाग्दा हुम्लाको खार्पूनाथ गाउँपालिका–२ थालीका स्थानीयले विरोध गर्दै निर्माण सामग्री नष्ट गरेका थिए । यस्तै हिमाली–३ का वडा सदस्य पेमा गारा गुरुङमाथि कुटपिट गर्नुका साथै उनको घर तोडफोड र धनमाल नष्ट गरेका थिए । त्यसक्रममा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापासहित अन्य पाँच जनासमेत घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।  इकान्तिपुर साभार

  • ८ जेष्ठ २०८३, शुक्रबार प्रकाशित

  • Nabintech