११ जेष्ठ २०८३, सोमबार

कांग्रेसलाई फुटबाट जोगाउन शेखरले अघि सारे ५ मध्यमार्गी प्रस्ताव
  • न्युज मानसराेवर

बाँके\नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताको लागि ५ बुँदे प्रस्ताव अघि सारेका छन्।सभापति गगन थापासँग निरन्तर संवादमा रहेका कोइरालाले पार्टी विभाजन रोक्नको लागि मध्यमार्गी प्रस्ताव अघि सारेका हुन्। कोइरालाले १५औँ महाधिवेशनको लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने, १४औँ महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यता कै आधारमा १५औँ महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन्।

यस्तै, १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने, कार्य सम्पादन समिति सभापतिको बहुमत हुने गरी गठन गर्ने र निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समिति आपसी सहमतिबाट मात्रै बनाउने प्रस्ताव छ।

सभापति थापाले पनि पार्टी एकता कायम राख्नको लागि आफू लचक हुन तयार रहेको बताउँदै आइरहेका छन्। पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहलाई समेटेर १५ औँ महाधिवेशन गर्नको लागि तयार रहेको बताउँदै आइरहेका छन्। सभापति थापाले निवर्तमान सभापति पूर्णबहादुर खड्का र कोइरालालाई वरिष्ठ नेता दिन तयार रहेको सन्देश पठाइसकेका छन्। यसअघि असन्तुष्टि समूहका १९ जना नेतालाई केन्द्रीय समितिमा ल्याइसकेका छन्।

  • ११ जेष्ठ २०८३, सोमबार प्रकाशित

  • Nabintech