१३ भाद्र २०८३, शनिबार

शिक्षा तथा मानव स्रोत विभाग बाँकेको १०औँ पूर्ण बैठक कोहलपुरमा सम्पन्न
  • न्युज मानसराेवर

कोहलपुर। नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभाग बाँकेको १०औँ पूर्ण बैठक कोहलपुरमा सम्पन्न भएको छ।

बैठकमा शिक्षा क्षेत्रको वर्तमान अवस्था, पार्टीका शैक्षिक नीति तथा कार्यक्रम, विभागको संगठन सुदृढीकरण, आगामी कार्ययोजना तथा ‘मिसन पार्टी जागरण’ अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकालले ‘मिसन पार्टी जागरण’ अभियानमा विभाग तथा सम्पूर्ण कार्यकर्तालाई सक्रियतापूर्वक क्रियाशील हुन आग्रह गर्नुभयो। उहाँले पार्टीका नीति, विचार र कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउन तथा शिक्षा क्षेत्रसँग सम्बन्धित समस्या र सरोकारका विषयमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

बैठकमा विभागले शिक्षा क्षेत्रको गुणस्तर सुधार, शैक्षिक जनशक्ति व्यवस्थापन तथा पार्टीको शैक्षिक एजेन्डालाई व्यवस्थित रूपमा अगाडि बढाउने विषयमा पनि छलफल गरेको थियो। साथै विभागका आगामी कार्यक्रम, संगठन विस्तार र विभिन्न तहका कार्यकर्तालाई सक्रिय बनाउने सम्बन्धमा आवश्यक निर्णयहरू गरिएको बताइएको छ।

यसैगरी, हालै आएको भीषण बाढी तथा त्यसबाट उत्पन्न विपद्का कारण अकालमै ज्यान गुमाउनु भएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्ने तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरिएको छ।
बैठकले बाढीका घाइतेहरूको प्रभावकारी उपचार, बेपत्ता भएकाहरूको तीव्र खोजी तथा मृतकहरूको शव व्यवस्थापनका लागि आवश्यक व्यवस्था गर्न नेपाल सरकारसँग माग समेत गरेको छ।
बैठकले शिक्षा तथा मानव स्रोत क्षेत्रसँग सम्बन्धित सरोकारवाला तथा पार्टीका कार्यकर्तालाई ‘मिसन पार्टी जागरण’ अभियानमा जोड्दै संगठनलाई थप प्रभावकारी र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
विभाग प्रमुख सूर्य रोकायाको अध्यक्षतामा सम्पन्न बैठकमा विभागका पदाधिकारी, सदस्य तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

  • १३ भाद्र २०८३, शनिबार प्रकाशित

  • Nabintech