इटहरी । पढाइसँगै अब समता स्कुल इटहरीका विद्यार्थी सञ्चार क्षेत्रमा पनि सक्रिय हुने भएका छन्। विद्यार्थीको रुचि, क्षमता र सिर्जनशीलतालाई सञ्चारमाध्यमसँग जोड्दै विद्यालयमा ‘समता मिडिया क्लब’ गठन गरिएको छ।
विद्यार्थीलाई विद्यालय तहदेखि नै सञ्चार क्षेत्रका विभिन्न आयामसँग परिचित गराउने, उनीहरूको अभिव्यक्ति क्षमता र आत्मविश्वास विकास गर्ने तथा रुचिअनुसार सञ्चारसम्बन्धी सीप सिकाउने उद्देश्यले क्लब गठन गरिएको विद्यालयले जनाएको छ।
क्लबमार्फत विद्यार्थीको सक्रिय सहभागितामा नियमित पोडकास्ट तथा विभिन्न सञ्चार सामग्री उत्पादन गर्ने योजना विद्यालयको छ। आगामी महिनादेखि विद्यार्थीहरूकै सहभागितामा पाक्षिक कार्यक्रम तयार गरी युट्युब तथा सामाजिक सञ्जालमार्फत प्रसारण गर्ने तयारी गरिएको छ।

‘कन्टेन्टदेखि उद्घोषणसम्म’ सिक्दै विद्यार्थी
मिडिया क्लब गठन तथा अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मी अमर खड्का र चन्दा बस्नेत ले विद्यार्थीलाई सञ्चार क्षेत्रमा आवश्यक आधारभूत सीपबारे प्रशिक्षण दिएका थिए।
उनीहरूले कन्टेन्ट लेखन, उद्घोषण, समाचार लेखन तथा वाचन, कार्यक्रम सम्पादन लगायतका विषयमा विद्यार्थीलाई जानकारी दिँदै सञ्चार सामग्री कसरी तयार गर्ने र प्रभावकारी रूपमा प्रस्तुत गर्ने भन्नेबारे अभिमुखीकरण गरेका थिए।
कार्यक्रममा विद्यार्थीलाई केवल सञ्चार सामग्री हेर्ने वा सुन्ने मात्र नभई आफैं सामग्री सिर्जना गर्ने र प्रस्तुत गर्ने अवसर दिने उद्देश्यले मिडिया क्लबको अवधारणा अघि सारिएको बताइएको छ।

३५ विद्यार्थीको सहभागिता
समता मिडिया क्लबको गठन तथा अभिमुखीकरण कार्यक्रममा कक्षा ५ देखि १० सम्मका ३५ जना विद्यार्थी सहभागी भएका थिए।
विद्यालयका अनुसार क्लबले विद्यार्थीको सिर्जनात्मकता, प्रस्तुति क्षमता, लेखन सीप र अभिव्यक्तिलाई थप निखार्दै लैजानेछ। विद्यार्थीको रुचि र क्षमताका आधारमा विभिन्न सञ्चार गतिविधिमा सहभागी गराउँदै आगामी दिनमा क्लबलाई थप व्यवस्थित रूपमा अघि बढाउने योजना रहेको विद्यालयले जनाएको छ।
विद्यालयमा गठन भएको मिडिया क्लबले विद्यार्थीलाई ‘सञ्चारका उपभोक्ताबाट सञ्चारका सिर्जनाकर्ता’ बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।










