२२ भाद्र २०८३, सोमबार

मृतकको सम्झनामा एमाले बैजनाथको वृक्षारोपण
  • न्युज मानसराेवर

बाँके\भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा नेकपा (एमाले) ले बाँकेको बैजनाथ गाउँपालिकामा शनिबार वृक्षारोपण तथा बिरुवा वितरण कार्यक्रम गरेको छ।

नेकपा (एमाले) बैजनाथ गाउँपालिका कमिटीको आयोजनामा राष्ट्रिय शोकको दिन पारेर आयोजित कार्यक्रममा सहभागी नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दालाई आँप, कागती, शीतलचिनी लगायतका करिब एक हजार बिरुवा वितरण गरिएको पालिका कमिटीका अध्यक्ष मानबहादुर खत्रीले जानकारी दिएका छन।

वातावरण संरक्षणसँगै बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले प्राकृतिक विपत्तिले मुलुकका नागरिकलाई गहिरो पीडा दिएको बताए ।राष्ट्रिय शोकको दिनलाई वृक्षारोपणसँग जोडेर बाढीमा ज्यान गुमाएकाहरूको स्मृतिलाई सम्मान गर्ने प्रयास गरिएको  खत्रीले भनेका छन।

कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य ढकालले प्राकृतिक विपत्तिका घटनाले मानव जीवन र प्रकृतिबिचको सम्बन्धलाई अझ गम्भीर रूपमा बुझ्नुपर्ने सन्देश दिएको उल्लेख गरे ।  बाढीपहिरो तथा अन्य प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन सोचका साथ वातावरण संरक्षण र वृक्षारोपण अभियानलाई गाउँ–गाउँसम्म विस्तार गर्नुपर्ने नेता ढकालको भनाइ थियो।

त्यस्तै, नेकपा (एमाले) बाँकेका जिल्ला अध्यक्ष निरक गुरुङले बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजना गरिएको वृक्षारोपण कार्यक्रमले शोकलाई सकारात्मक र सिर्जनात्मक अभियानसँग जोडेको बताए ।   गुरुङले वृक्षारोपणलाई एक दिनको कार्यक्रममा सीमित नगरी निरन्तर अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका छन।

  • २२ भाद्र २०८३, सोमबार प्रकाशित

  • Nabintech