समता स्कुल इटहरीद्वारा तीज कार्यक्रम रद्द, बाढीपीडितलाई सहयोग गर्ने निर्णय
समता लहानले पनि गर्यो सहयोग
न्युज मानसराेवर
इटहरी, भदौ २५ — विगत १५ वर्षदेखि सम्पूर्ण कक्षामा न्यून तथा समान शुल्क लिई इटहरीमा सञ्चालित समता स्कुलले यस वर्ष तीज कार्यक्रम आयोजना नगर्ने र सोका लागि छुट्याइएको रकम बाढीपीडितहरूको सहयोगमा उपलब्ध गराउने निर्णय गरेको छ।
विद्यालयका प्रिन्सिपल सन्तोष श्रेष्ठले यस सम्बन्धी जानकारी गराउँदै, विद्यालयले हरेक वर्ष तीजको अवसरमा साँस्कृतिक कार्यक्रम तथा दर खाने कार्यक्रम आयोजना गर्दै आएकोमा गत भदौ १० गते रसुवा लगायत वरपरका जिल्लाहरूमा आएको बाढी-पहिरोका कारण हालसम्म १,३५७ जनाको मृत्यु भइसकेको र ५,३२६ जना बेपत्ता रहेको अवस्थालाई मध्यनजर गर्दै यस वर्ष उक्त कार्यक्रम नगर्ने र त्यसमा खर्च हुने रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको बताए।
यसअघि नै समता स्कूलको लहानले पनि विद्यार्थी, अभिभावक तथा शिक्षकहरूबाट सहयोग रकम संकलन गरी रु. १६,३७०।- सोही कोषमा जम्मा गरिसकेको छ।
विद्यालयका अनुसार, इटहरीको यो निर्णय भदौ २५ गते बसेको शिक्षक बैठकमा भएको छलफलपछि गरिएको हो। विद्यालयले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै यस कठिन घडीमा आफ्नो तर्फबाट यथासम्भव योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।