७ बैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेशका सबै जिल्ला अस्पतालबाट कोरोना उपचार गरिने
  • न्युज मानसराेवर

बुटवल — लुम्बिनी प्रदेशमा कोरोना विशेष अस्पतालबाहेकका सरकारी अस्पतालबाट समेत कोरोना उपचार गरिने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा शुक्रबार बुटवलमा बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले अन्य सेवा प्रभावित नहुने गरी प्रदेशका सबै जिल्ला अस्पतालमा ५ बेडबाट कोरोना उपचार सुरु गर्ने निर्णय लिएको हो । लुम्बिनीमा १२ जिल्ला अस्पताल छन् ।

उक्त सेवा स्थापना गर्न केन्द्र सरकारबाट प्राप्त सहयोगलाई परिचालन गर्ने र नपुग रकम प्रदेश सरकारसाग माग गरिने केन्द्रले जनाएको छ । यस्तै जटिल खालका बिरामीका लागि तत्काल बुटवलको कोरोना अस्पतालमा ‘हाइडिपेन्डेन्सी युनिट’ थप्ने बैठकको निर्णय छ ।

यस्तै केन्द्रले लक्षण देखिएका शंकास्पद बिरामीको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको छ । लक्षण भएका बिरामीलाई अनिवार्य परीक्षणको दायरामा ल्याउन यस्तो व्यवस्था गरिएको हो ।

बैठकले आफ्नै खर्चमा परीक्षण गर्न चाहने व्यक्तिलाई सहज रूपमा सशुल्क परीक्षणको व्यवस्था गर्ने र परीक्षणको नतिजा प्रयोगशालाहरूले अनिवार्य रूपमा जिल्ला स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयले संयोजन मिलाउने निर्णय गरेको छ ।

लक्षणसहितका बिरामीको उपचार कोभिड विशेष अस्पताल र अन्य सरकारी अस्पतालमा निःशुल्क गरिने भए पनि उक्त खर्च संक्रमितले पाउने बिमाबाट कटाइने र बिमा रकमभन्दा बढी खर्च भए त्यो सरकारले नै बेहोर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

यस्तै सम्भावित उच्च संक्रमणबाट जोगिन अस्पतालमा कार्यरत डाक्टरलगायत स्वास्थ्यकर्मीको निश्चित समयावधिभित्र लक्षण नभए पनि कोभिड जााचको व्यवस्थासहितको आवश्यक योजना सामाजिक विकास मन्त्रालयले तयार गरी लागू गर्ने केन्द्रले निर्णय गरेको छ ।

होम आइसोलेसनमा बस्ने संक्रमितलाई नियमित निगरानीमा राख्ने गरी स्वास्थ्यकर्मीसहित जनप्रतिनिधिको टोली बनाउन स्थानीय तहलाई बैठकले निर्देशन दिएको छ । होम आइसोलेसनमा बस्नेको स्वास्थ्य अवस्था, प्रयोगशाला परीक्षण, स्वास्थ्य सुरक्षा मापदण्ड, आकस्मिक उद्धारलगायतको व्यवस्था र आवश्यक तथ्यांक नियमित संकलन गर्न आवश्यक संयोजन र समन्वयको व्यवस्था सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई मिलाउन निर्देशन दिइएको छ ।कान्तिपुर

  • ७ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech