१४ बैशाख २०८१, शुक्रबार

बाइडेनले ट्रम्पलाई पराजित गर्लान् ?

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले चुनावी सर्वेक्षणलाई उद्धृत गर्दै बाइडेन ट्रम्पभन्दा झन्डै १० अंकले अगाडि रहेको जनाएका छन् ।

  • एजेन्सी

वासिङ्टन — अमेरिकामा मंगलबार हुने राष्ट्रपतीय चुनावमार्फत वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुने दाउमा छन् । तर उनका विरुद्ध डेमोक्रयाट नेता तथा पूर्वउपराष्ट्रपति जो बाइडेन निकै कठिन प्रतिस्पर्धीका रूपमा उभिएका छन् ।

अमेरिकाको परम्परावादी राजनीतिक शक्ति रिपब्लिकन र उदारवादी दलबीचको यो चुनावी भिडन्त निकै रोचक हुने पनि चुनावी सर्वेक्षणहरूले देखाएका छन् । बाराक ओबामाका उपराष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका बाइडेन दशकौंको अनुभवले खारिएका राजनीतिज्ञ हुन् ।

सामान्य नागरिकसँग सहजतापूर्वक घुलमिल हुन सक्ने बाइडेन विदेशनीतिका ज्ञाता तथा प्रखर वक्ताका रूपमा समेत परिचित छन् । तर विरोधीहरूका लागि बाइडेन संस्थापनसँग जोडिएका ‘अस्ताउन लागेका घाम’ हुन् । त्यसका साथै बेलाबखत महिलाहरूको कपाल सुँघ्ने बानीका कारण पनि उनी आलोचित हुने गरेका छन् । बाइडेनले अमेरिकी सिनेटका चुनाव सातपटक जितिसकेका छन् ।

खासगरी कामदार तथा मजदुर वर्गलाई आफ्नो स्वतःस्फूर्त भाषणमार्फत तरंगित पार्न सक्ने खुबी बाइडेनमा छ । भाषणपछि उनी आफ्ना समर्थकसँग हात मिलाउँछन्, अंकमाल गर्छन् र कुनै रकस्टारले जस्तै फोटो खिचाउँछन् ।

‘बाइडेन मानिससँग अंकमाल गर्छन्, बोल्छन्, छुन्छन् र त्यो सबै वास्तविक हुन्छ । कृत्रिम होइन,’ पूर्वविदेशमन्त्री तथा राष्ट्रपतिका पूर्वउम्मेदवार जोन केरीले न्युयोर्कर पत्रिकालाई बताए । तर उनको स्पर्श गर्ने बानीलाई लिएर कतिपय प्रश्न उठेका छन् ।यसपटकको चुनावी प्रतिस्पर्धाका दुवै खेलाडी ७० वर्ष माथिका हुन् । राष्ट्रपति ट्रम्प ७४ वर्ष पुगेका छन् भने बाइडेन उनीभन्दा चार वर्ष जेठा छन् । यद्यपि चुनावी खेलमा भने ट्रम्पभन्दा बाइडेन परिपक्व र अगाडि देखिएका छन् ।

त्यस्ता टिप्पणीका बाबजुद अश्वेत मतदातामाझ उनी लोकप्रिय छन् । रोबोट शैलीमा निकै योजनाबद्ध रूपमा तौलिएर बोल्ने राजनीतिज्ञहरूको भिडमा उनी एक वास्तविक मानिसजस्तो देखिन्छन् । बाल्यकालमा भकभकाउने समस्या स्मरणमा रहेकाले आफूले पढेर बोल्नुका साटो मनका कुरा बोल्न रुचाउने उनको भनाइ छ ।

बाइडेन सन् १९८७ मा पहिलोपटक राष्ट्रपति पदका निम्ति आकांक्षी बनेका थिए । गत केही दशकयता अमेरिकाका हरेक महत्त्वपूर्ण घटनाक्रममा बाइडेन या त संलग्न छन् या त त्यसबारे केही टिप्पणी गर्दै आएका छन् । अहिलेको राजनीतिक वातावरणमा ती कतिपय निर्णय उचित नदेखिन सक्छ ।

ओबामाको कार्यकालमा रक्षामन्त्री रहेका रोबर्ट गेट्सले बाइडेनबारे गरेको एक टिप्पणीलाई पनि रिपब्लिकनहरू सम्झाइरहन्छन् । विगत चार दशकमा विदेशनीति तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित लगभग प्रत्येक महत्त्वपूर्ण निर्णयमा बाइडेन गलत ठहरिएको तर पनि उनलाई नरुचाउन भने नसकिने गेट्सले बताएका थिए ।

राष्ट्रपति ट्रम्पमाथि महाभियोग लगाइएको थियो तर पछि सिनेटले सफाइ दिएका कारण उनलाई हटाइएन । उनले गरेको आम्दानीको एउटा क्षेत्र युक्रेन थियो । त्यसलाई लिएर राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपतिमाथि भ्रष्टाचारको अनुसन्धान गर्न दबाब दिएको भन्ने आरोप लागेको थियो । उक्त फोन कलका कारण ट्रम्पमाथि हालसालै महाभियोग लगाइयो । सिनेटले उक्त प्रस्ताव पारित नगरेका कारण ट्रम्पको पद भने गुमेन ।

बाइडेनसँग विश्वमञ्चको धेरै अनुभव छ । कूटनीतिक अनुभव उनको बलियो पक्ष भएकाले विदेश मामिलासम्बन्धी काण्ड बाइडेनका निम्ति बढ्ता हानिकारक हुन्छ । उनी विगतमा सिनेटको विदेशसम्बन्ध समितिका अध्यक्ष थिए । आफ्ना साढे चार दशक लामो राजनीतिक यात्रामा विश्वका सबै अग्रणी नेतालाई भेटेको उनको दाबी छ । यसले मतदाताहरूलाई आश्वस्त त पार्छ तर विदेश मामिलाका विभिन्न मुद्दामा उनले विगतमा गरेका मतदानले कस्तो असर पार्ला भन्नचाहिँ सकिन्न ।

हार–जित जे भए पनि यो बाइडेनको राजनीतिक जीवनको अन्तिम अध्याय भने अवश्य हुनेछ । चुनावी मत सर्वेक्षणले बाइडेनले अग्रता कायम राखेका देखाएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले चुनावी सर्वेक्षणलाई उद्धृत गर्दै बाइडेन ट्रम्पभन्दा झन्डै १० अंकले अगाडि रहेको जनाएका छन् ।

एनबीसी न्युज र वालस्ट्रिट जर्नलले चुनाव हुनु दुई दिनअघि गरेको सर्वेक्षणमा बाइडेनले ५२ र ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने देखिएको उल्लेख छ । एनबीसीका अनुसार चुनावी मत सर्वेक्षणमा सहभागी बिल म्याकइन्टर्फले राष्ट्रव्यापी मत सर्वेक्षणमा बाइडेन १० अंकले अगाडि रहेको भए पनि परिणामबारे यकिन गर्न सकिने अवस्था नरहेको बताए ।

एरिजोना, फ्लोरिडा, जर्जिया, आयोवा, मेन, मिसिगन, मिनेसोटा, नर्थ क्यारोलिना, न्यु ह्याम्पसायर, नेभाडा, पेन्सिलभेनिया र विस्कन्सिन राज्यहरू निर्णायक मानिएका छन् । अक्टोबर २९ देखि ३१ तारिखसम्मको मत सर्वेक्षणले ५७ प्रतिशत मतदाताले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि राष्ट्रपति ट्रम्पको कार्यशैली नरुचाएको देखाएका छन् । तर अर्थतन्त्रका सन्दर्भमा राष्ट्रपति ट्रम्पलाई झन्डै ५५ प्रतिशतले समर्थन जनाएका छन् । अमेरिकी चुनाव परियोजनाका अनुसार सोमबारसम्म ९ करोड ३० लाखभन्दा बढी अमेरिकीले मतदान गरिसकेका छन् । यो संख्या सन् २०१६ मा गणना गरिएको कुल मतको झन्डै ६८ प्रतिशत हो ।

सानातिना राजनीतिक कटाक्ष तथा राजनीतिक प्रचार अभियानका बेला गरिने छवि निर्माणका विषयबाहेक यो चुनावसँग निकै नै महत्त्वपूर्ण मुद्दाहरू गाँसिएका छन् ।

यदि बाइडेनले जिते भने उनका निम्ति लामो राजनीतिक यात्राको एउटा उत्कर्ष हुनेछ । तर यदि उनी हारे भने थप चार वर्ष उनकै शब्दमा ‘अमेरिकाको राष्ट्रपति हुन पूर्णतः नालायक व्यक्ति’ को हातमा सत्ताको डाडु–पन्यु जानेछ । सन् २०१६ को राष्ट्रपतीय चुनावमा उम्मेदवार हुने वा नहुने विषयमा गरिएको प्रश्नमा उनले भनेका थिए, ‘राष्ट्रपति नभईकन पनि म खुसीखुसी यो संसारबाट बिदा हुन सक्छु ।’ तर अब भने त्यो स्थिति निकै फेरिएको देखिएको छ ।

  • १८ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech