१६ चैत्र २०८०, शुक्रबार

बाँकेका कृषक सस्तोमा धान बेच्न बाध्य
  • न्युज मानसराेवर

बाँके बैजनाथ \ सरकारले किसानलाई प्रोत्साहन गर्न यस वर्ष समयमै धानको समर्थन मूल्य निर्धारण गरे पनि किसानले भने धानको मूल्य नपाएको गुनासो गरेका छन् ।
सरकारले तोकेको मूल्यमा व्यापारीहरूले धान खरिद नगरेपछि किसानहरूले निकै सस्तो मूल्यमा धान बेच्न बाध्य भएका हुन् । सरकारले प्रति क्विन्टल मोटा धानको मूल्य दुई हजार सात सय ३५ रुपैयाँ र मध्यम धानको दुई हजार आठ सय ८५ रुपैयाँ मूल्य निर्धारण गरेको छ । तर, किसान भने सरकारले निर्धारण गरेको मूल्य भन्दा ६ सयदेखि ७ रुपैयाँ कममा व्यापारीलाई धान बिक्री गर्न बाध्य भएको बताउँछन् ।

खजुरा ३ धौलागिरीका किसान जनकबहादुर पौडेलले व्यापारीहरुकोमा निकै कम मूल्यमा धान बिक्रि गर्नु परेको बताए । ‘खाद्यमा २८ सय मूल्य भएको धानको बजारमा २२ सयमा बेच्नु प¥यो’ उनले भने ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले खरिद सुरु नगरेकोले बजारमा मनोमानी रुपमा खरिद भैरहेको छ’ ।
समयमै मूल्य नतोक्दा व्यवसायीले मनोमानी ढंगले धान खरिद गर्न थालेपछि सरकारले यस वर्ष धानवाली लगाउनु अगावै न्यूनतम् समर्थन मूल्य तोकेको
थियो । तर, सरकारले तोकेको मूूल्य बाँकेका व्यापारीहरुले कार्यान्यवन गरेका छैनन् ।

अर्को तर्फ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले समेत हालसम्म धान खरिद कार्य सुरु नगरेपछि किसान सस्तोमा धान बेच्न बाध्य भएका हुन् । लिमिटेडले भने विभिन्न कारण देखाउँदै मंसिरको पहिलो सातादेखि धान खरिद गर्ने जनाएको छ ।

त्यसो त जिल्लाका केही सहकारी संस्थाहरुले समेत सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद सुरु गरेको जनाएका छन् तर, सबै स्थानमा खरिद कार्य हुन नसक्दा बाँकेका कृषक सस्तोमा धान बेच्न बाध्य भएका हुन् ।

  • २१ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech