२२ मंसिर २०७९, बिहीबार

प्राङ्गारिक खेतीका लागी घरेलु कीटनासक बनाउने तरिकाहरु
  • सरिता पौडेल

प्राङ्गारिक खेती गर्दा विसादीको प्रयोग गरिदैन र त्यसैबिच जब बालीमा किराहरुले आक्रमण गर्न थाल्छन् तब किसानहरु दोधारमा पर्नुहुन्छ। त्यसैले आज मैले हाम्रै घर वरिपरि पाइने चिजहरुबाट केही घरेलु कीटनासक बनाउने तरिकाबारे जानकारी दिनेछु जसले बालीमा लाग्ने विभिन्न किराहरुलाइ ब्यबस्थापन गर्न मद्दत गर्दछ।

१. मेवाको पात 
मेवाको पातबाट हामिले विभिन्न किरालाई मार्ने कीटनासक बनाउन सक्छौ। यसका लागि हामिले मेवाको पात र पानी १:१० को अनुपातमा लिनु पर्दछ। १०० ग्राम मेवा को पातबाट १ लिटर कीटनासक बनाउन सकिन्छ। सर्बप्रथम मेवाको पात सानो सानो बनाएर काट्नुपर्दछ। त्यसपछि यसलाइ पिसेर पानीमा मिसाइ २४ घन्टा छोपेर राख्नुपर्छ। २४ घन्टा पछि यसलाइ राम्ररी घोलेर कपडाले छानेर अर्को भाडामा खनाउनुपर्छ। त्यसपछी पातको सतहमा पुर्याउनका लागी र त्यहाँ धेरै समयसम्म रहोस् भनेर हामीले तरल साबुन १ चम्चा मिसाउन सक्छौ। अब यो सिधै हामीले बोट बिरुवामा छर्न सक्छौ।

मेवाको पातमा रहेको papain, flavonoids, saponin, जस्ता उपयुक्त तत्वले लाइ (aphid), धमिरा (termites), साना किराहरु (small insects) तथा विभिन्न किराका लार्वा (caterpillars) लाई नियन्त्रण गर्न सहयोग पुर्याउदछ र हाम्रो बालीलाई सुरक्षित राख्दछ।

२. नीम
निमबाट पनि हामीले घरेलु कीटनासक बनाउन सक्छौ।१ लिटर कीटनासक बनाउनका लागि २००-३०० ग्राम निमको पात लिनुपर्दछ। सर्वप्रथम पातमा भएको धुलो पखाल्नु पर्दछ र पातलाई चुडेर पानीमा भिजाइ २-३ दिन सम्म छोपेर राख्नुपर्दछ। ३ दिनपछि यसलाइ राम्ररी घोलेर कपडाले छानेर अर्को भाडामा खनाउनुपर्दछ। त्यसपछि तरल साबुन १ चम्चा मिसाएर यो बोट बिरुवामा छर्न सकिन्छ।

निममा रहेको मुख्य तत्व Azadirachtin ले बिकर्सकको काम गर्द्छ र हाम्रो बालीबाट किराहरुलाइ धपाउन मद्दत गर्दछ।

३. खुर्सानी र लसुन
खुर्सानी र लसुनको प्रयोग गरेर पनि हामीले आफ्नो बालीलाई किराबाट जोगाउन सक्छौ। यसका लागि हामीले १०० ग्राम खुर्सानीको धुलो र १०० ग्राम लसुनको पेस्ट लिनुपर्दछ। त्यसलाइ आधा लिटर तातो पानीमा मिसाइ २४ घन्टा छाडिदिनुपर्छ। अनि २४ घन्टा पछि तरल साबुन १ चम्चा मिसाएर यस्को प्रयोग गर्न सकिन्छ।

४. गोल्भेडाको पात (tomato leaf spray)
गोल्भेडाको पातबाट पनि हामीले घरेलु कीटनासक बनाउन सक्छौ। यसमा पाइने “tomatine” मा रोगानुरोधी र किटनासक गुण हुन्छ जस्ले हाम्रो बालीलाई लाइ (aphid), सेतो पुतली (whiteflies), आदि जस्ता विभिन्न किराबाट जोगाउन मद्दत गर्दछ। यस्का लागि हामीले गोल्भेडाको बोटको तल्लो भागबाट (matured leaves) २०० ग्राम जति पात लिनुपर्दछ। त्यसपछि यस्लाइ १ लिटर पानीमा हालेर छोडिदिनुपर्छ। अनि २४ घन्टा पछि यस्लाइ छानेर प्रयोग गर्न सकिन्छ।

५. गाइको मुत्र (cow urine)
गाइको मुत्र र पानीको मात्रा १:१० अनुपातमा मिलाएर यसलाइ सिधै बोटबिरुवामा छरेर पनि किराको आक्रमण कम गर्न सकिन्छ। यसलाइ भने साझको बेला छर्दा अझ प्रभावकारी हुन्छ।

यसरी घरमै तयार गरिएको कीटनासक प्रयोग गर्दा केही किसानले भने बोटनै मर्यो पनि भन्नुहुन्छ तर त्यो भने कीटनासक कडा भएको अर्थात् त्यसमा पानीको मात्रा कम भएको कारणले हो। यसका लागी हामीले सुरुमै ‘Patch test’ गर्न सकिन्छ अर्थात सबै बोटबिरुवामा प्रयोग गर्नु भन्दा अगाडि १-२ वटा पातमा मात्र प्रयोग गर्ने र पात सुकेको जस्तो देखियो भने त्यसमा पानी थपि पातलो (dilution) बनाएर छर्नुपर्छ र त्यसपछि भने अवस्य नै राम्रो परिणाम आउनेछ।

यसरी घरेलु सामानहरुबाट नै हामीले विभिन्न जैविक कीटनासक बनाउन सक्छौ जस्को प्रयोगले वातावरण, मानव स्वास्थ, माटो र बाली कुनैलाई पनि हानी नपुर्याइ किराको नियन्त्रण गर्दछ। तसर्थ रासायनिक विसादीको प्रयोगबाट निम्तिने नकारात्मक परिणामलाई मध्यनजर गर्दै दिगो कृषिका निमित्त हामीलविसादीको प्रयोग कम गर्दै विभिन्न जैविक नियन्त्रण बिधिहरु अपनाउन अत्यन्त जरुरी छ। कृषि

  • २५ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech