१५ बैशाख २०८१, शनिबार

तिहारमै ‘भाइमसला’को विक्री घट्यो
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।   तिहारमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिएर उपहारसँगै दिने ‘भाइमसला’ को व्यापार निकै ठूलो हुने गर्छ । भाइमसला भनिने खानेकुरामा ओखर, बदाम, काजु, किसमिस लगायत महँगा मानिने चिजहरू हुन्छन् । विशेषगरी तिहार निजिकै आउँदै गर्दा बजारमा भाइमसला किन्ने दिदीबहिनीको भिडभाड निकै बाक्लो हुन्छ ।

नेपालगन्जको एकलैनी क्षेत्रमा त ठेलामठेल भिड हुने गर्छ । अन्यत्र पनि पसलहरूमा दिदीबहिनीको भिड लाग्छ । तिहारमा ठूलो परिमाणमा भाइमसला बिक्री हुने भए पनि यस वर्ष व्यापार निकै निराशाजनक भएको व्यापारीहरू बताउँछन् । कोरोना भाइरस संक्रमणको भयका कारण व्यापार घटेको उनीहरूको भनाइ छ ।

कोरोना माहामारीले ६ महिनाभन्दा लामो समय ठप्प भएको बजार लकडाउन खुलेपछि पनि पहिलेझैँ चलायमान हुन नसकेको व्यापारीहरू बताउँछन् । भाइमसलामा वर्षभरिको आधा हिस्सा व्यापार तिहारमा हुने गरेको भए पनि यस वर्ष व्यापार नचम्किएको एकलैनीका व्यापारी जमील नन्दनले बताए ।

‘खुद्रा व्यापारमा विशेषगरी भाइमसलाका सामानहरू तिहारमा वर्षभरिको व्यापारको आधा हिस्सा हुने गर्थ्यो,’ उनेले भने, ‘यो वर्ष त तिहारको व्यापार चौपट होलाजस्तो छ ।’ भीडभाड हुने एकलैनी बजारमा भाइटीका आउन जम्मा पाँच दिनमात्र बाँकी हुँदा पनि दिदीबहिनीको चहलपहल नदेखिएको नन्दनले बताए ।

उनले भने, ‘कोभिडका कारण ८ महिनासम्म व्यापार ठप्प भयो, तिहारमा केही होला कि भन्ने आशा थियो त्यो पनि होला जस्तो छैन ।’ प्रायजसो चाडपर्वको समयमा हरेक सामग्रीको मूल्य बढ्ने गर्छ । व्यापारीले पनि अनेक बहानामा उपभोक्तासँग महँगो मूल्य लिने गर्छन् । यस वर्ष भने तिहारमा भाइमसलाको मूल्य २० प्रतिशतसम्म घटेको व्यापारीहरूको भनाइ छ ।

विगतको तुलनामा यस वर्ष बजारमा चहलपहल कम भएकोले व्यापारीहरूले आफूसँग रहेको सामानको मूल्य घटाएरै बेच्न चाहे पनि सोंचेजस्तो व्यापार नभएको एकलैनीकै व्यापारी मुस्तफा अहमदले बताए । उनले भने ‘कोभिडले लामो समयदेखि व्यापार छैन, सामानको मुख्य घटाउँदा पनि विक्री हुँदैन ।’

काजु, किसमिस लगायतका सामान मिठाई पसल र पार्टी प्यालेसमा पनि निकै ठूलो परिमाणमा खपत हुन्थ्यो । यस वर्ष यी दुवैमा अत्यन्तै कम खपत भएको उनले बताए । उनले भने, ‘कोभिडले मिठाई पसल र पार्टी प्यालेसमा मसलाको सामान खपत हुन सकेन । यो तिहारमा मूल्य घटाएरै बेच्न खोजे पनि विक्री भइरहेको छैन ।’ सत्यपाटी

  • २५ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech