७ बैशाख २०८१, शुक्रबार

कोरोना भ्याक्सिन परीक्षण सफल हुनासाथ ल्याइने

२ करोड १० लाख नेपालीलाई खोप चाहिने, करिब ६० अर्ब खर्च लाग्ने अनुमान

  • न्युज मानसराेवर

काठमाडौँ — कोरोना खोपको परीक्षण सफलताउन्मुख भइरहेका बेला नेपालमा ल्याउने तयारी सुरु भएको छ । हाल बेलायत, अमेरिका, चीन र रुसले कोरोनाको खोप बनाएर तेस्रो चरणको परीक्षण गरिरहेका छन् ।

तेस्रो चरण सफल भइसकेपछि ती खोप ल्याउन नेपालले तयारी थालेको हो ।नेपाल विश्वव्यापी खोप सुविधा पाउने ‘कोभाक्स’ मा सामेल भएकाले विश्व बजारमा खोप आउनासाथ नेपालीले प्रयोग गर्ने गरी ल्याउने तयारी छ । स्वास्थ्य मन्त्रालयले कोरोना खोपको ओसारपसार, भण्डारण, कोटेसन, लगानी र खोप लगाउने स्वास्थ्यकर्मीबारे गृहकार्य सुरु गरेको छ ।

खासगरी खोपको कोल्ड चेनलाई लिएर तयारी सुरु भएको हो । ‘प्रदेशहरूलाई पनि सबै तयारी गर्न भनिएको छ । विशेष रूपमा खोपको ढुवानी र भण्डारणबारे काम गर्नुपर्नेछ किनभने यो धेरै न्यून तापक्रममा भण्डारण गर्नुपर्छ ।

खोप धेरै ताप संवेदनशील रहेको कुरा आइरहेको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने, ‘भ्याक्सिन कहिलेबाट बजारमा आउँछ र प्रयोग सुरु हुन्छ भन्ने निश्चित नभए पनि केही समयमा आउँछ । कोभाक्समा हामीले एप्लाइ गरेका छौं, त्यहाँबाट हामीले पनि खोप पाउँछौं ।’

कोभाक्स एउटा यस्तो प्रणाली हो, जसको माध्यमले गरिब र धनी सबै मुलुकमा प्रभावकारी रूपमा खोप पाउने सुनिश्चित गरिन्छ । विकसित र अन्य दाताले आर्थिक स्रोत दिने र गरिब मुलुकले पनि रकम योगदान गर्ने गरी कोभाक्सको धारणा ल्याइएको हो ।

कोभाक्सले अल्पविकसित र अविकसित मुलुकले खोप पाउने सुनिश्चित गरेको औंल्याउँदै डा। अधिकारी भन्छन्, ‘कोभाक्सअन्तर्गतका सबै मुलुकले समानुपातिक रूपमा कोभिडको खोप पाउनेछन् । यो खोप अनुदानमा पनि आउँछ, यसका लागि अत्यन्त कम मूल्य तिनुपर्छ ।’

उनका अनुसार हाल स्वास्थ्य मन्त्रालयले कोभाक्ससँग समन्वय गर्दै भविष्यमा आमनेपालीलाई कोभिड खोप उपलब्ध गराउन सहकार्यको तयारी गरिरहेको छ । स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरूले माघ महिनापछि नेपालमा समेत खोप आउने अनुमान गरेको अनौपचारिक रूपमा बताए । यसैअनुसार भण्डारण, ढुवानी, तालिम प्राप्त स्वास्थ्यकर्मी आदिको तयारी अघि बढाइएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा। प्रदीप ज्ञवालीका अनुसार मुलुकमा सबैलाई कोभिडको खोप लगाउँदा करिब ६० अर्ब लाग्ने देखिएको छ । सरकारले हालसम्मको विश्लेषणअनुसार करिब ७० प्रतिशत नेपालीलाई खोप आवश्यक हुने आकलन गरेको छ । कान्तिपुर

  • २७ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech