१६ चैत्र २०८०, शुक्रबार

४३ दिनपछि खुल्यो प्रतिष्ठानको ताला
  • एलपी देवकोटा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीले लगाएको ताला ४३ दिनपछि खुलेको छ । असोज २६ गते प्रतिष्ठानको सम्पर्क कार्यालय, ललितपुरबाट उपकुलपति प्रा। डा। राजेन्द्रराज वाग्लेले जनस्वास्थ्य संकायको डीनमा प्रा।डा। मुनिराज क्षेत्रीलाई नियुक्त गरेपछि कर्मचारी कल्याणकारी समाजले ताला लगाएको थियो । सातादेखिको वार्ता निष्कर्षमा पुगेपछि ताला खुलाउन कर्मचारी सहमत भएका हुन् । क्षेत्री प्रतिष्ठानको तेस्रो डीन हुन् ।

निर्णय सच्याउन उपकुलपतिलाई अल्टिमेटम दिए पनि नसच्याएपछि समाजले ताला लगाएको थियो । दुई डीनले भूमिका नपाइरहेको बेला प्रतिष्ठानलाई आर्थिक भार पार्न तेस्रो डीन नियुक्त गरिएको समाजले आरोप लगाएको थियो । सहमतिअनुसार नियुक्त भएका डीन र अन्य डीनहरुको सम्बन्धमा तीन सदस्य कार्यदल गठन गर्ने निर्णय भएको छ । उक्त कार्यदलले पेस गरेको प्रतिवेदन कार्यकारी परिषद्‌मा पेस गर्नेछ ।

परिषद्ले आगामी सिनेट बैठकमा निर्णय गराई १ जना डीन प्रमुख राख्ने र अन्य संकायका डीन सहायक डीन रहने व्यवस्था गर्ने सहमति पनि भएको समाजले जनाएको छ । ललितपुरको महालक्ष्मीस्थानमा रहेको प्रतिष्ठानको सम्पर्क कार्यालय यथाशीघ्र हटाउने सहमति गरिएको कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रमाकान्त उपाध्यायले बताए ।

उनका अनुसार सम्पर्क कार्यालयमा कार्यरत कर्मचारीलाई एक साताभित्र प्रतिष्ठानको केन्द्रीय कार्यालय, जुम्लामा बोलाउने निर्णयसमेत गरिएको छ । ‘प्रतिष्ठानका सम्पूर्ण पदाधिकारी विशेष कामबाहेक पूरै समय प्रतिष्ठानको केन्द्रीय कार्यालयमा बस्ने सहमति गरेका छौं,’ उनले भने, ‘अन्य मागका सम्बन्धमा कार्यकारी परिषद्‌बाट हुबहु पारित गर्ने निर्णय पनि गरेका छौं ।’

ताला खुलेसँगै आगामी शैक्षिक सत्रदेखि एमबीबीएस, एमडी, एमसलगायतका कार्यक्रम सञ्चालनको तयारी तीव्र पारिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । उनका अनुसार तालाबन्दी भए पनि अस्पतालमा गर्नुपर्ने तयारी यसअघि पनि रोकिएका थिएनन् । ‘कोभिडका कारण अनुमति पाइसकेको एमडीजीपीलगायतको स्नातक कार्यक्रममा पनि विद्यार्थी भर्ना हुन सकेको थिएन,’ उनले भने, ‘चिकित्सा शिक्षा आयोगले सिट निर्धारण गरेअनुसार विद्यार्थी भर्नाको प्रक्रिया पनि थालेका छौं ।’ कर्णालीमा एमबीबीएसको पढाइ सञ्चालनका लागि सरकारले डा।गोविन्द केसीसँग गरेको सम्झौताअनुसार नयाँ शैक्षिक सत्र सुरु गर्ने तयारी गरिएको हो । नयाँ शैक्षिक शत्र चैत वा वैशाखदेखि सुरु गर्ने प्रतिष्ठानको तयारी छ ।

जसका लागि भौतिक संरचना, आधारभूत विज्ञान प्रयोगशाला, कर्मचारी भर्ना र विद्यार्थी आवासको लागि घर भाडामा लिने काम सकिएको वाग्लेले बताए । उनका अनुसार विभागीय शिक्षकसमेत व्यवस्था भइरहेको छ । कान्तिपुर

  • १२ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech