१४ बैशाख २०८१, शुक्रबार

किन आमा जस्तै हुन थाले पिताहरु ?
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  अनुशासन, भय र सम्मान मिलेर बनेको व्यक्तित्व थियो, पिताको । यो अघिल्लो पुस्तासम्मको कुरा हो । किनभने अहिले पिताको व्यवहार र भूमिका बद्लिएको छ । साथसाथै बच्चाले आफ्ना पिताप्रति राख्ने दृष्टिकोण र आस्था पनि फेरिएको छ । किनभने अहिलेका पिताहरु आफ्ना बच्चाका लागि अभिभावक वा मार्गदर्शक मात्र नभएर एक हितैषी मित्र बराबर हुन पुगेका छन् ।

विगतमा जस्तो पिताले आफ्ना बालबच्चासँग निश्चित दुरी राख्ने गरेका छैनन् । अहिले बच्चका लागि पिताले विगतमा भन्दा बढी प्रेम दर्शाउन थालेका छन् ।

विगतमा पनि पिताले आफ्ना बालबच्चालई उत्तिनै प्रेम गर्थे । बालबच्चाको भविष्यप्रति उत्तिनै चिन्तित हुन्थे । तर, उनीहरुले आफ्नो भावनालाई व्यक्त गर्दैनथे । कसरी बच्चा हुर्काउने रु के गर्ने, के नगर्ने रु कस्तो व्यवहार गर्ने भन्ने कुराहरु पनि उति सोधीखोजी गर्दैनथे । उनीहरु आफ्नै परिपक्क अनुभवको आधारमा बालबच्चालाई स्वतन्त्र ढंगले हुर्कन दिन्थे । एक किसिमले आफ्नै बच्चासँग पनि दुरी बनाएर बस्थे, ताकि बच्चा आफुमाथि हावी नहोस् । आफुसँग थोरै भएपनि डर राखोस् । जब आफुसँग डराउँछन्, तब अनुशासन पालना गर्छन् । आज्ञाकारी हुन्छन् । यही सोचाईले विगतमा पिताहरुले आफ्नो बच्चासँग धेरै हेलमेल पनि हुँदैनथे । बच्चा रुनसाथ काखमा लिएर खेलाउने गर्दैनथे । बच्चाको समस्या सुनेर भावुक हुँदैनथे । तर, अहिलेका पिताको व्यवहार बद्लिएका छन् ।

समयसँगै कति बद्लिए पिता ? 

आदिम विकासका क्रममा पिताको काम परिवारको सुरक्षा र भोजनको व्यवस्था गर्नु थियो । र, आमाको कम खानेकुरा पकाउनु, बालबच्चाको स्यहार गर्नुथियो । बच्चाको हेरचाह र प्रेम आमाले गर्थिन् । यी दुबले आफ्नो आफ्नो काम राम्ररी निर्वाह गर्थे । यो विकासक्रम लाखौ बर्षसम्म जारी रह्यो । तर, औद्योगिक क्रान्ति र फेरी संचार क्रान्तिले सबैकुरा बदलिदियो ।

अहिले पिताका साथसाथै आमा पनि काममा लागे । आयआर्जनका मेलोमेसो मिलाउने काममा खटिन थाले । पुरुषको एकछत्र प्रभाव भएको क्षेत्रमा पनि महिलाको प्रवेश भयो । उनीहरु घर धन्दा र बालबालिका हुर्काउने काममा मात्र नभई आफ्ना श्रीमान सरह घर बाहिरको काममा लाग्न थाले । आयआर्जन गर्न थाले । यसले घरको माहौल परिवर्तन गरिदियो ।

यही परिवर्तनलई स्विकार गर्दै पुरुषहरुले आफ्नो भूमिका पनि बदल्न थाले । र, विगतमा जुन स्थानमा रहेर आमाले आफ्ना सन्तानको रेखदेख गर्थे, त्यही ठाउँमा पुरुषहरुले आफुलाई उपस्थित गराए । उनीहरु पनि आमा जस्तै बनेर बालबच्चाको स्यहार सुसार गर्न थाले । यस्तो अवस्था किनपनि आवश्यक भयो भने आमा बुवा दुबै घर बाहिर काम गरिरहँदा बालबच्चा हेरचाह गर्नका लागि दुबैले आलोपालो गर्नुपर्ने भयो । आमा काममा भएको बेला वा आमा व्यस्त भएको बेला पिताले सो भूमिका निर्वाह गर्नुपर्ने भयो । यसरी क्रमस पिताको व्यवहार फेरियो ।

पुरुषको भावनात्मक परिवर्तनको कारण के पनि हो भने उनीहरुमा आफ्ना पूर्वजको तुलनामा टेस्टोस्टेरोन  (पुरुष हर्मोन)को स्तर घटेको छ र सन्तान प्रेमका लागि जिम्मेवार अक्सिटोसिन हर्मोन (वात्सल्य हर्मोन)को स्तर बढेको छ ।

  • १३ मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech