१३ बैशाख २०८१, बिहीबार

के हो तनहुँको बुल्दी पुल विवाद ?
  • न्युज मानसराेवर

दमौलीः तनहुँ प्रशासनले व्यास १, १० र ११ जोड्ने बुल्दी खोलामाथि निर्मित पुलको उद्‍घाटन बुधबार तय भएको थियो। उद्घाटन कार्यक्रममा विरोध हुने देखिएपछि निषेधाज्ञा जारी गरेको छ ।

पुलको उद्घाटन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने कार्यक्रम थियो । उनी दुई दिनयता गृह जिल्लामा छन् । पुलको उद्घाटन पौडेलबाट हुन नदिन नेकपा नेतृत्वले विरोध गरेको थियो ।

दमौलीमा नेकपाको युवा मोर्चाले प्रदर्शन थालेको तथा निर्माण उपभोक्ताले उद्घाटन गरिछाड्ने भनेपछि प्रशासनमा बसेको सुरक्षा समितिको बैठकले झडप हुन नदिन भन्दै निषेधाज्ञा आदेश गरेको छ । आदेशमा पुल निर्माण भएको व्यास १ र ११ आसपासको क्षेत्रमा मध्याह्न १२ देखि साँझ ६ बजेसम्म निषेधाज्ञा आदेश छ ।

पुलको इतिहास

तत्कालीन जिविसको एसएनआरटिपी परियोजनाअन्र्तगत निर्मित पुल २०७३ वैशाखबाट निर्माण सुरु भएर २०७५ कार्तिकमा सकिएको थियो । पुल बने पनि पक्की बाटो लगायतका संरचना बनिनसकेकाले उद्घाटन नभएको उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर अधिकारीले बताए ।

दुई करोड ५४ लाख रुपैयाँमा निर्मित पुलको निर्माण पोहोर साल नै सकिएको थियो । तर पुलको उद्घाटन भने भएको थिएन । कांग्रेस कार्यकर्ताको बाहुल्यता रहेको निर्माण उपभोक्ता समितिले आफ्ना नेता गृहजिल्ला आएका बेला उनीबाटै पुल उद्घाटन गराउन चाहेको थिए।

पुल ल्याउनमा उहाँको योगदान भएकाले सर्वसम्मत निर्णय गरेर पुल उद्घाटन गराउन लागेका हौं, अनुगमन संयोजक ईश्वर पौडेलले भने,जसरी पनि कार्यक्रम हुन्छ । तर प्रमुख जिल्ला अधिकारी सागर आचार्यले प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट पत्र आएकाले हाल कार्यक्रम नगर्नु भनेको तर झडप नै हुने अवस्था आएपछि निषेधाज्ञा जारी गर्नु परेको बताए । नेकपाको युवा भ्रातृ संगठनले दमौलीमा उद्घाटनको विरोधमा र्‍याली पनि गरेको थियो ।

हाल पौडेललाई जितेर निर्वाचित प्रतिनिधि‍सभा सदस्य नेकपा नेता कृष्णकुमार श्रेष्ठ र वरिष्ठ नेता पौडेल दुवै गृहजिल्ला छन् । नेकपा श्रेष्ठबाट पुलको उद्घाटन गराउन चाहन्थ्यो भने कांग्रेस पौडेलबाट ।

मंगलबार पौडेलले मास्दी घाटमा व्यास १४ र ऋषिङ ३ जोड्ने सेती पुलको पनि उद्घाटन गरेका थिए । यसको उद्घाटनमा पनि श्रेष्ठको चाहना भएपनि कांग्रेसको बाहुल्यता रहेको दुवै तहका प्रतिनिधिले पौडेलबाट उद्घाटन गराएपछि दुवैबीचको द्वन्द्वको छाप कार्यकर्ता तहमा देखिएको हो ।

बिहानैदेखि सुरक्षा कडा 

प्रशासनले बिहानैदेखि दमौली र आसपासको क्षेत्रमा सुरक्षा कडा पारेको छ । कांग्रेस र नेकपा दुवैले शक्ति प्रदर्शन गर्न लागेपछि जनपथ र सशस्त्र सुरक्षाकर्मी परिचालन गरिएको छ ।   अन्पूर्ण

  • १७ मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech