१६ चैत्र २०८०, शुक्रबार

कक्षा १२ को नतिजा कहिले ? बोर्डका अध्यक्ष भन्छन्- प्राप्तांक इन्ट्री गर्नै गाह्रो भइरहेको छ
  • न्युज मानसराेवर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा जतिसक्यो छिटो प्रकाशन गर्ने तयारीअनुसार काम गरिरहेको जनाएको छ । हाल परीक्षार्थीहरुको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको छ ।

तर विद्यालयहरुले सिम्बोल नम्बरको क्रमअनुसार विवरण नपठाइदिँदा परीक्षा बोर्डका कर्मचारीहरु हैरान छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले अनलाइनखबरसँग भने, ‘आफ्नो विद्यालयका ५०-१०० जना विद्यार्थीको पनि सिरियल नम्बरअनुसार नपठाइदिएर जिकज्याक गरेर पठाइदिएका छन् । माथिको तल, तलको माथि छ, खोज्दै इन्ट्री गर्दा त साह्रै गाह्रो भाछ ।’

प्रा.डा. पौडेलले नतिजा कहिले आउँछ भन्न नसकिए पनि जतिसक्यो छिटो नतिजा प्रकाशन गर्ने गरी आफूहरुले काम गरिरहेको जानकारी दिए । बोर्डसँग जनशक्ति पनि प्रयाप्त नै भएको उनले बताए ।

‘सिम्बोल नम्बर सिरियली भएको भए फटाफट इन्ट्री गर्न सजिलो हुन्थ्यो । त्यसो नभएकाले दिनमै ४० हजार इन्ट्री गर्नेहरुले ५ हजार पनि इन्ट्री गर्न सकिरहेका छैनन्,’ प्रा.डा. पौडेलले भने, ‘त्यसैले कहिले सकिन्छ भनेर भन्नै नसकिने भयो । तर सकेसम्म छिटो काम सक्ने कोसिस गरिरहेका छौं ।’

यसअघि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष पौडेलले १५ पुसभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य रहेको बताएका थिए ।

शिक्षकहरूले उत्तरपुस्तिका परीक्षण गरेर २२ मंसिरसम्म बोर्डको सम्बन्धित कार्यालयमा पठाइसक्नुपर्ने व्यवस्था थियो । बोर्डको प्रदेश र शाखा कार्यालयहरूले ती उत्तरपुस्तिकाको सम्परीक्षण गरेर केन्द्रमा पठाएका थिए ।

केन्द्रमा आएको प्राप्तांकमा कक्षा ११ को प्राप्तांक, आन्तरिक र प्रयोगात्मक परीक्षाको अंकसमेत जोडेर नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

  • १४ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech