१५ चैत्र २०८०, बिहीबार

दृढ इच्छाशक्तिका साथ जैविक विविधता संरक्षण गर्नुपर्छ प्रधानमन्त्री

सन् २०३० सम्ममा संरक्षित भूभाग ३० प्रतिशत पुर्याउने योजना रहेको

  • न्युज मानसराेवर

१५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षण गर्न दृढ राजनीतिक इच्छाशक्तिका साथ काम गर्नुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७५ औं महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा आज न्युयोर्कमा भएको जैविक विविधता शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

दृढ राजनीतिक इच्छाशक्तिका साथै विचार र नवप्रवर्तनको प्रवर्द्धनसहित जैविक विविधता संरक्षणको लागि दिगो लगानी सुनिश्चित गर्नु आवश्यक भएकोमा प्रधानमन्त्री ओलीले जोड दिए ।

जलवायुसम्बन्धी प्रतिकार्य अविलम्ब कार्यन्वयन गर्नु सबैको नैतिक दायित्व भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरमा सहमति भएका विकासका खाकाहरू र वातावरणसम्बन्धी बहुपक्षीय सम्झौताहरूअन्तर्गत गरिने प्रयासबीच सामञ्जस्य कायम गर्न जरुरी भएको बताए । ‘जैविक विविधता संरक्षण त्यस्तो कार्य हो जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै सरोकारवालाहरूको प्रतिबद्धता र कार्यान्वयन आवश्यक हुन्छ । मानिसको स्रोतमाथिको अधिकार तथा प्राकृतिक स्रोतको दिगो संरक्षणबीच समुचित सन्तुलन कायम गर्दै हामीले अझ महत्वकांक्षी लक्ष्यहरू निर्धारण गर्नुपर्छ’, उनले भने ।

प्रकृतिसँग सामञ्जस्य कामय गरेर जीवनयापन गर्नु नेपाली संस्कृतिको अभिन्न अंग भएको यथार्थ सुनाउँदै प्रधानमन्त्री ओलीले जैविक विविधतासम्बन्धी अमूल्य ज्ञान प्राचीनकालदेखि नै हाम्रा ऋषिमुनिहरूले नयाँ पुस्तालाई हस्तान्तरण गरेका तथा त्यसको संरक्षणको महत्वबारे शिक्षा दिएका बताए ।

जैविक विविधता संरक्षणलाई नेपालले उच्च प्राथमिकतामा राखेको र त्यसमा वाञ्छित प्रगति पनि गरिरहेको जानकारी दिँदै उनले त्यसको संरक्षण ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्ने राष्ट्रिय आकांक्षाको महत्वपूर्ण आयामको रुपमा रहेको बताए ।

नेपालको २३ प्रतिशत भूभाग संरक्षित क्षेत्रको रुपमा रहेको तथा नेपालले जैविक विविधता संरक्षणको ११ औँ लक्ष्य हासिल गरिसकेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा संरक्षित भूभाग ३० प्रतिशत पुर्याउने योजना रहेको सुनाए ।

जलविद्युतबाट उपलब्ध हुने स्वच्छ उर्जाले जैविक विविधतामा पर्ने दबाबलाई कम गरेको, कानूनको सबल कार्यान्वयन र अन्तर्राष्ट्रियस्तरमा सहयोगको अभिवृद्धिबाट नेपालले झण्डै एकदशक यता गैंडाको शिकारलाई शून्यमा सीमित गरेको जानकारी पनि प्रधानमन्त्रीले दिए ।

लक्षित वर्ष सन् २०२२ अगावै नेपालमा बाघको संख्या झण्डै दोब्बरले वृद्धि हुने प्रक्षेपण गर्दै उनले नेपालको पर्वतीय पारिस्थितिक प्रणाली विशिष्ट प्रयोगशाला भएको बताए ।

उनले भने, ‘खोजकर्ता, सोधकर्ता तथा वैज्ञानिकहरूका लागि यो ज्ञानको वास्तविक स्रोत पनि हो, मानवमात्रको हितका लागि पर्वतीय पारिस्थितिक प्रणाली महत्वपूर्ण साझा निधिका रूपमा रहेको छ । यसको लाभ हाम्रो सीमापारिसम्म पुगेको छ ।’ उनले जैविक विविधता शिखर सम्मेलन आयोजना गरेकामा संयुक्त राष्ट्रसंघका महासचिव एण्टोनियो गुटरेसप्रति आभार प्रकट गरे ।

अनलाइनमा प्रकाशित

  • १५ आश्विन २०७७, बिहीबार प्रकाशित

  • Nabintech