१३ बैशाख २०८१, बिहीबार

सडक सुरक्षा कडाईको नाममा असुली गर्दै बाँके ट्राफिक

नेपालगन्ज भन्सार चोक, धम्बोझी, पुस्पलाल, फुल्टेक्रा, चौलिक्का, गनापुर, राँझा, कोहलपुरका विभिन्न क्षेत्र र महेन्द्र तथा रत्न राजमार्गमा सुरक्षाका लागि खटिएका ट्राफिकले दशै खर्चका नाममा मनोमानी रकम असुल्दै आउन थालेको चालकहरू बताउँछन् ।

  • न्युज मानसराेवर

बैजनाथ बाँके । बाँके प्रहरीले हिन्दूहरूको महानपर्व दशैलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाएको दाबी गरिरहेका बेला सडक सुरक्षा र चेकजाँचका नाममा ट्राफिक प्रहरीको असुलीधन्दा शुरू भएको देखिएको छ। सुरक्षाको नाममा ट्राफिक प्रहरीले पर्वको मौका छोपी चेकजाँचको नाममा रकम असुल्ने गर्न थालेको चालकहरूले गुनासो गरेका छन् ।

प्रहरीहरूले एउटै गाडीलाई विभिन्न ठाउँमा रोकेर चेकजाँच गर्न थालेका कारण समस्या हुन थालेको चालकहरूले बताएका हुन् । नेपालगन्ज भन्सार चोक, धम्बोझी, पुस्पलाल, फुल्टेक्रा, चौलिक्का, गनापुर, राँझा, कोहलपुरका विभिन्न क्षेत्र र महेन्द्र तथा रत्न राजमार्गमा सुरक्षाका लागि खटिएका ट्राफिकले दशै खर्चका नाममा मनोमानी रकम असुल्दै आउन थालेको चालकहरू बताउँछन् ।

गनापुरमा भेटिएका एक जना चालकले भने, ‘चेकजाँच गर्नु राम्रो कुरा हो । तर, चाडपर्वलाई मध्यनजर गरी चेकजाँचको नाममा रकम लिनु सरासर गल्ती छ ।’ उनले गाडी रोकेर विभिन्न चोकमा रकम लिएर गाडी छोडने गरेका कारण झनै समस्या भएको बताए । उनका कुरा नसक्दै अर्को चालकले भने, ‘नेपालका प्रहरीलाई सडक सुरक्षामा होइन रकम असुल्न परिचालन गरिएको हुन्छ । गाडी रोकेर कागजपत्र देखाउने बहानामा कागजभित्र रकम राखेर दिने प्रचलन नै भएको छ ।
यहाँका अटोरिक्सा, लगायतका साना तथा मझौला सवारी साधन चालक त टाफिकलाई दैनिक रकम बुझाउँदा बुझाउँदा आजित भएको बताउँछन् । बाँकेको नेपालगन्ज बजारमा मात्रै नभई कोहलपुर, कोहलपुरदेखि चिसापानी र कोहलपुर चप्पडगौडी सडक खण्डमा ट्रफिक प्रहरीले अटोरेक्साबाट मासिक रुपमा रकम असुल्ने गरेको अटो व्यवसायीहरुले गुनासो गरेका छन् ।

कागजात नभएकाहरुबाट प्रहरीले मासिक एक हजारका दरले पैसा असुल्ने गरेको व्यवसायीहरु बताउँछन् । लाईसेन्स नभएका अटोबाट ट्राफिक प्रहरीले मासिक रुपमा रकम लिएर निर्बाध रुपमा संञ्चालन गर्न दिने गरेका छन् ।

सवारी साधनको धेरै चाप हुने बाँकेका विभिन्न क्षेत्रमा ट्राफिक प्रहरी प्रमुखले नै आफु निकटका व्यक्तिलाई डियुटिमा खटाएर रकम असुल्न लगाउने गरेको नाम नबताउने सर्तमा एक जना ट्राफिक प्रहरीले बताउँछन् ।

शम्सेरगन्ज, चप्परगौडी, ढकेरी, सम्झना, गनापुरका साथै नेपालगन्जका फुुल्टेक्रा, पुरैना, बसपार्क मानखोला, चौलिक्कका लगायतका क्षेत्रमा कार्यालय प्रमुखले नै मासिक लक्ष्य निर्धारण गरेर ट्राफिक प्रहरीलाई रकम असुल्न निर्देशन दिएको ट्राफिक प्रहरीकै भनाई छ ।

सुरक्षा व्यवस्थाको नाममा चेकजाँच गर्दा यसरी रकम असुली नगरिएको बाँकेका ट्राफिक प्रहरी निरीक्षक राजु भण्डारी बताउँछन् । उनले आफूसँग कुनै प्रकारको त्यस्तो गुनासो नआएको बताए । यस्तो गुनासो आए जो कोहीलाई कारवाही गर्ने उनले जिकिर गरेका छन् ।

प्रहरी निरीक्षक भण्डारीले बजारमा आएको हल्लाअनुसार रकम असुली नभएको दाबी गर्दै उनले यस्तो भएको भएपनि अबदेखि यसको सहज व्यवस्थापन र समस्याको समाधान गर्ने बताए ।

तर, बाँके ट्राफिक प्रहरीकै अनुसार अहिलेका प्रमुख भण्डारीले आफू बस्दासम्म राजश्वका नाममा ३ करोड रकम असुल गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएको खुलासा भएको छ । उनको निर्देशनअनुसार राजश्वको नाममा दुई बर्षभित्र ३ करोड संकलन गर्न यसै गरी असुलीको अर्को विकल्प नदेखिने एक ट्राफिकले बताए ।

बाँकेमा यसअघि ग्रामीणक्षेत्रका किसानले उत्पादन गरेको दुध खरिद गरी बिक्रि वितरणका लागि ल्याउने दुध संकलकबाट बाँके ट्राफिक प्रहरीले नियमित रकम असुल्दै आएको खुलेको थियो । बाँके ट्राफिकले केही दिनअघि यहाँका पत्रकारलाई साक्षी राखेर सबैभन्दा बढी सवारी आवागमन हुने क्षेत्रहरुमा सवारी दुर्घटना न्युनिकरणका लागि ‘एक दिन एक अभियान’ सञ्चालन गर्ने घोषणा पनि गरेको थियो ।’ई-सेतोखरी

  • २८ आश्विन २०७७, बुधबार प्रकाशित

  • Nabintech