१९ जेष्ठ २०८२, आईतवार

गलैँचा जस्तै ढकमक्क खप्तडका मैदान
  • न्युज मानसराेवर

कैलाली- धर्तीको स्वर्ग मानिने खप्तड राष्ट्रिय निकुञ्ज यतिबेला ढकमक्क फूलले ढाकिएको छ।

प्राकृतिक सौन्दर्यको खानी प्रसिद्ध पर्यटकीय तथा धार्मिक क्षेत्र खप्तड निकुञ्जमा ती फूलहरु गलैँचा जस्तै बनेर फुल्दा खप्तडको सौन्दर्य झन् थपिएको छ।

डोटी, अछाम, बाजुरा र बझाङ जिल्लाले छोएको खप्तडमा २२ दह र ३२ पाटन रहेका छन्। सुन्दर घाँसे मैदान यतिबेला रंगीचंगी फूलहरूले ढकमक्क ढाकिएका छन्। यहाँ पुग्ने जोसुकै पर्यटकहरू जति थकाई लागेपनि ती फूलले गर्दा थकान मेटिन्छ।

खप्तड बाबा आश्रम, त्रिवेणी धाम, खापड दह, नाग ढुङ्गा, केदार ढुङ्गा, यहाँको मुख्य आकर्षण हुन्।

जुनसुकै महिनामा पनि घुम्न सकिने खप्तड साउन/भदौ महिनाको समयमा निकै मनमोहक हुने गर्दछ। चारैतिर हरियाली र पाटनभरी ‘भुइँफूल’ले खप्तड निकै मनमोहक देखिन्छ। यहाँ सयौं जातका फूलहरू यतिबेला फुल्ने गर्दछन्।

खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत उपयुक्त गन्तव्यका रूपमा परिचित छ। पौराणिककालमा सिद्ध तथा ऋषिमुनिहरूले तपस्या गरेको यस क्षेत्रलाई पुराणमा समेत खेचरादी पर्वतका रूपमा वर्णन गरिएको छ।

समुद्र सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।

खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिवमन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरूले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन्।

खप्तड क्षेत्रमा ठूला र साना गरी २२ वटा फाँटहरू पनि यहाँका प्रमुख आकर्षण हुन्।

  • ५ भाद्र २०७८, शनिबार प्रकाशित

  • Nabintech