रासस। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा हुने भएको छ । बैठक यही भदौ २१ देखि २५ सम्म काठमाडौंमा हुने भएको हो ।
बैठकमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा ट्रेडोस अधानम गेब्रेयेसस, क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्रसंघका निकायलगायत संस्थाका प्रतिनिधिको उपस्थिति हुनेछ ।
बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकमा अनुमोदन गरिएका व्यवस्थामा भएका प्रगतिको लेखाजोखा गर्नेछ ।
दक्षिण–पूर्वी एशिया क्षेत्रमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलंका, थाइल्यान्ड, भुटान, दक्षिण कोरिया र टिमोर–लेट्सेलगायत देश रहेका छन् ।