१२ श्रावण २०८१, शनिबार

एमसीसी उपाध्यक्ष सुमारको पहिलो भेट एमाले अध्यक्ष ओलीसँग तय
  • न्युज मानसराेवर

काठमाडौँ। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की पूर्वाधार परियोजना उपाध्यक्ष फातिमा सुमारको पहिलो भेट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हुने तय भएको छ ।

चार दिने भ्रमणका लागि बिहीवार काठमाडौं आइपुगेकी सुमारको बसोवासका लागि नक्सालस्थित मेरियट होटलमा व्यवस्था मिलाइएको छ । फातिमासँगै एमसीसीका सहायक उपाध्यक्ष जोनथन ब्रुक्स पनि काठमाडौं आएका छन् ।

विमानस्थलबाट सिधै मेरियट होटल पुगेकी सुमार एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न दिउँसो २ बजे ओली निवास बालकोट जाने कार्यक्रम छ ।

दिउँसो २ बजे ओली र सुमारबीच भेटको समय निर्धारण भएको एमाले अध्यक्ष ओलीको सचिवालयले बताएको छ । तर, ओली र सुमारबीच एक्लाएक्लै भेटवार्ता भने नहुने सचिवालयले बताएको छ ।

‘पार्टी टीम र एमसीसी उपाध्यक्षबीच भेट हुने तय भएको छ । अध्यक्ष र सुमारबीच एक्लाएक्लै भेटवार्ता हुने होइन’, ओलीको सचिवालय स्रोतले भन्यो ।

एमसीसी सम्झौता कार्यान्वयनका लागि संसद्बाट अनुमोदन हुनुपर्छ ।

सम्झौता संसद्मा टेबल भएपनि अहिलेसम्म संसद्को कार्यसूची बन्न सकेको छैन । भदौ २३ बाट संसद्को नवौं अधिवेशन शुरू भएको छ, तर प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरोध गरिरहेको छ ।

एमसीसी अनुमोदनका लागि संसद्मा प्रमुख प्रतिपक्षीको साथ चाहिने बुझेकी उपाध्यक्ष सुमारले पहिलो भेट नै विपक्षी दलको नेतासँग गर्ने तय गरेकी छिन् ।

सुमारले चार दिन काठमाडौंमा रहँदा सबैजसो राजनीतिक दलका नेताहरूलाई भेट्ने कार्यक्रम तय भएको छ ।

  • २४ भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech