१२ श्रावण २०८१, शनिबार

क्रियाशील सदस्यता विवादले बाँके कांग्रेसको अधिवेशन अन्योलमा
  • न्युज मानसराेवर

बाँके। क्रियाशील सदस्यता विवादका कारण बाँके कांग्रेसको १४औ‌ महाधिवेशनअन्तर्गतका सबै प्रक्रिया अन्योलमा परेका छन् । गत १८ भदौदेखि सुरु हुनुपर्ने वडा अधिवेशन क्रियाशील सदस्यता टुंगिएर नआएकाले अन्योलमा परेको हो ।

कांग्रेस बाँकेका सचिव तप्त पौडेलले क्रियाशील सदस्यता टुंगिएर नआएकाले अधिवेशनका सबै प्रक्रिया अन्योलमा रहेको बताए । ‘गत १८ भदौदेखि वडा अधिवेशन सम्पन भई क्रमिक रूपले क्षेत्र, जिल्लाको अधिवेशन सम्पन्न गर्ने अवस्थामा पुग्नुपर्ने हो । मुख्य क्रियाशील सदस्यको टुंगोनै नभई सबै रोकिएको छ ।’

तीनवटा निर्वाचन क्षेत्र, एक उपमहानगर, एक नगर र ६ गाउँपालिका रहेको बाँकेमा क्रियाशील सदस्यताको विवादका कारण अधिवेशनका कुनै पनि तयारी अघि बढ्न सकेको छैन । कांग्रेस बाँकेका कार्यालय सचिव उमेश शर्माले पुराना क्रियाशील सदस्य पाँच हजार दुई सय र नयाँ थप तथा नवीकरण गरी करिब आठ हजार पाँच सय केन्द्रमा पठाएकोमा कति आउने हो ? कुनै टुंगो नभएको बताए ।

बाँके पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको गृहजिल्ला भएकाले पनि संस्थापन पक्षले आफूलाई कोइराला पक्षभन्दा कमजोर महसुस गरी पार्टीका पुराना तथा वर्तमान विभिन्न कमिटीमा रहेका पदाधिकारीको समेत नाम क्रियाशील सदस्यताबाट काटेर पठाएपछि विवाद सुरु भएको एक जिल्ला नेताले भने ।

जिल्लामा क्रियाशील सदस्यताबारे सबैभन्दा बढी क्षेत्र नं १ मा विवाद छ । संस्थापन पक्षले कोइराला पक्षमा रहेका पुराना कार्यकर्ता तथा वर्तमान क्षेत्रीय कमिटीका सचिव डिल्ली गिरीसमेतको नाम काटेर पठाएपछि विवाद चुलिएको थियो ।

नेपाली काँग्रेस बाँके क्षेत्र नं १ का सभापति माधवराम खत्रीले केन्द्रले नै वडा, पालिका हुँदै क्षेत्रमा आएका नयाँ नाम तथा पुरानाको नवीकरण गराई पठाएको, तर केन्द्रबाटै केही नाम काटेर आएपछि विवाद भएको बताए ।

बाँकेमा रहेको क्रियाशील सदस्यता विवादको टुंगो लगाउन माग गर्दै जिल्लाबाट केन्द्रमा गएको डेलिकेसनको टोली करिब डेढ महिनादेखि काठमाडौंमै छ ।  आरपी सुवेदी/न्युज कारखाना

  • २९ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech