१० जेष्ठ २०८२, शुक्रबार

६ हजार ३४७ प्रतिनिधिको उपस्थितिमा एमालेको विधान महाधिवेशन आजदेखि सुरु हुँदै
  • न्युज मानसराेवर

काठमाडौं- संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेको पहिलो विधान महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। ललितपुरको गोदावरीस्थित ‘सनराइज सम्मेलन केन्द्र’मा महाधिवेशन आयोजना गरिने छ।

एमालेले आफ्नो विधान महाधिवेशनका लागि ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं! जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं!!’ भन्ने नारा तय गरेको छ।

यसअघि विधान, नीति तथा नेतृत्व निर्धारण गर्नको लागि एउटै महाधिवेशन आयोजना गरिँदै आएकोमा एमालेले यसपटक नयाँ अभ्यास गरेको हो।

अपरान्ह १२:१५ बजे एमाले अध्यक्ष ओलीले एक समारोहका बीच पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गर्नेछन्। उद्घाटनका क्रममा महाधिवेशनको प्रचारस्वरुप बेलुन उडाइनेछ। राष्टिय गान गाइने छ र सहिदहरूप्रति श्रद्धाञ्जलीपछि महाधिवेशन कार्यसूचीहरूमा प्रवेश गर्नेछ।

महाधिवेशनको उद्घाटन सत्रलाई अध्यक्ष ओली लगायतका नेताहरुले सम्बोधन गर्नेछन्। उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव पोखरेलबाट संगठनात्मक प्रस्ताव र उपमहासचिव पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत हुने छ। ती दस्तावेजहरु एमालेका केन्द्रीय कमिटी र स्थाथी कमिटीबाट यसअघि नै पारित भइसकेका छन्।

महाधिवेशनको दोस्रो दिन असोज १६ गते समूह छलफल र समूह नेताबाट सुझावहरूको प्रस्तुती गरिनेछ। तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोताहरुबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरूलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ।

महाधिवेशनमा विभिन्न क्षेत्रबाट चुनिएर आएका ६ हजार ३४७ जना प्रतिनिधिहरूको सहभागिता रहनेछन्। सहभागिताको विषय एमालेले यसअघि नै टुंग्याइसकेको छ। जसअन्तर्गत, केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै सदस्य, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसद, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उप प्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख कमरेड, जनसंगठन र पेशागत संगठनहरूबाट चुनिएका भएका प्रतिनिधि, भारत लगायत प्रवासका संघ संगठनहरूबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधान बमोजिम मनोनित सदस्य महाधिवेशनमा सहभागी हुनेछन्।

एमालेले देशभरबाट विधान महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुलाई कार्यक्रम स्थलसम्म जान र फर्किनका लागि बसको व्यवस्था गर्ने भएको छ। ललितपुरको सातदोबाटोदेखि बसको व्यवस्था गरिएको एमालेले जनाएको छ। महाधिवेशनलाई प्रविधिको सहायतामा थप भव्य बनाउने उद्देश्य लिएको छ। विभिन्न स्थानमा डिजिटल बोर्डबाट महाधिवेशनका गतिविधि प्रत्यक्ष प्रसारण गर्ने तयारी छ।

महाधिवेशनको प्रचारका लागि वाल पेन्टिङ, वाल पोष्टरिडलाई पूर्णतः बन्द गरिएको एमालेले जनाएको छ। प्रचार प्रसारको निम्ति मूलतः मिडियाको सहयोग लिइने बताइएको छ। एमालेले काठमाडौं महानगरपालिका अन्तर्गत सडकका पोलहरुमा रहेका बोर्डमा पोष्टर राखिएको छ। दरबारमार्ग, चाबहिल, चुच्चेपाटी, हात्तीसार, कमलादी, थापाथली लगायतका स्थानमा डिजिटल बोर्डको माध्यमबाट प्रचार प्रसार गर्न लागिएको छ।

  • १५ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech